मनोरंजन

नेपालमा बक्सअफिस बाध्यता कि बहस ?

काठमाडौं, २१ माघ । लामो समयदेखि नेपालमा बक्स अफिल लागू हुने चर्चा चले पनि अझै बक्स अफिल लागू हुन सकेको छैन । चलचित्र विकास वोर्डले केही वर्ष यता नेपालमा बक्स अफिस लागू गर्ने पहल गरेको जनाए पनि बक्स अफिस लागू हुन सकेको छैन । राजधानीका केही हलमा यस्तो अवस्था रहेपनि अधिकांश हलमा बक्स अफिल लागू हुन नसक्दा चलचित्रले कति कारोबार ग¥यो एकिन तथ्यांक थाहा नपाइने अवस्था यथावत नै छ । तर, अब भने बक्स अफिल लागू हुने अवस्था देखिएको छ । 
आगामी बैशाखबाट लागू हुने भनिएको फिल्म बक्सअफिस आउँदो फागुनबाट नै सुरु हुने भएको छ । फागुन १ गतेबाट काठमाडौं उपत्यकाका हलहरुमा बक्सअफिस लागू गर्ने निर्णय भएको हो । सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा चलचित्र विकास बोर्डमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा बोर्ड अध्यक्ष नीकिता पौडेल, चलचित्र संघका अध्यक्ष प्रदिप उदय, निर्माता संघका अध्यक्ष आकाश अधिकारीको उपस्थिति रहेको थियो । 
मोफसलका हलहरुका लागि विकास बोर्डले नै बक्सअफिस सर्भर र उपकरण जडान खर्च दिने भएको छ । चलचित्र संघका अध्यक्ष उदयका अनुसार एउटा हलमा सर्भर जडानका लागि एक लाख रुपैयाँ खर्च हुन्छ । जानकारी अनुसार बक्सअफिस सर्भरको पहुँच चलचित्र विकास बोर्ड, निर्माता, हल सञ्चालक, वितरक र कर कार्यालयमा हुनेछ ।