मनोरंजन

बेलतायबाटै समाजसेवामा नेपाली चेली प्रसुना

काठमाडौं, चैत । लामो समयदेखि बेलायत बसेर आफ्नो छुट्टै पहिचान बनाएकी नेपाली चेली प्रसुना कँडेल पेशाले नर्स हुन् । नेपाल नर्सिङ एसोशिएसन यूकेकी अध्यक्ष समेत रहेकी उनी विरामीहरुको सेवामा अहोरात्र खटिन्छिन् । त्यतिमात्र नभएर उनी बहुमुखी प्रतिभाकी धनी छिन् । बेलायतबाटै कलाकारितामा सक्रिय प्रसुना त्यहाँ हुने कुनै पनि सांस्कृतिक कार्यक्रममा छुट्दिनन् । 
नृत्य, मोडलिङ, अभिनय गर्नुका साथै सामाजिक कार्यक्रमा सशक्त रुपमा लागेकी प्रसुना केही साता यता नेपाल आएर आइतबार बेलायत फर्किदैछिन् । सन् २००४ सालबाट मोडलिङ यात्रा थालेकी प्रसुनले यसलाई अहिलेसम्म पनि निरन्तरता दिँदै आएकी छिन् । लोक दोहोरी गीतका म्यूजिक भिडियोमा समेत उनले अभिनय गरेकी छिन् । त्यस्तै बेलायतमा वेवसाइट मोडलिङ, कमर्सियल मोडलिङ, म्यागेजिन मोडलिङ, फेसन शो र टेलिभिजन कार्यक्रम लगायतमा उनको सक्रियता रहँदै आएको छ । 
बेलायतबाट नर्सिङमा मास्टर्स गरेकी उनी ‘फिजिकल केयर नर्सिङ’ को काम गर्दै आएकी छन् । तर उनलाई यो भन्दा बढी मोडलिङले चर्चा दिलाएको छ । नर्सिङमा करिअर बनाउन बेलायत गएको बताउने प्रसुना भन्छिन्– ‘सानैदेखिको इच्छा थियो । मोडलिङले तान्यो ।’ काठमाडौंमा छँदा लोकदोहोरीका भिडियोमा अभिनय गरेकी उनी बेलायत गएपछि सौन्दर्य प्रतियोगिताहरूमा भाग लिन पुगिन् । फ्रेस अफ प्युरिटी नामक ‘ब्यूटी कन्टेस्ट’ की प्रतिस्पर्धी प्रसुनालाई मिस पब्लिक च्वाइस र मिस पर्सनालिटीको उपाधिले हौसला बढायो । सन् २०१५ को ‘रुल द रन वे’ प्रतियोगितामा संसारभरिबाट पाएको भोटले ‘पब्लिक च्वाइस’ अवार्ड पाएकी उनलाई मोडलिङमा राम्रो गर्न सक्छु भन्ने आत्मविश्वास बढाएको बताउँछिन् । किङडम स्कूल अफ आर्टबाट थिएटर एक्टिङ कोर्स तथा इन्टरनेशनल स्कूल अफ स्क्रिन एक्टिङबाट डिप्लोमा गरेकी उनले इलाहावादको प्रयाग संगीत पाठशालाबाट गुरुदेव कामतमार्फत शास्त्रीय संगीतको समेत सिकेकी छन् ।
सामाजिक सेवामा सक्रिय प्रसुना सामाजिक सेवा भावलिएर यो पटक नेपाल आएकी थिइन् । भूकम्पले क्षति भएका विद्यालयको पुनःनिर्माणका लागि उनी प्रयासरत छिन् । भूकम्पलगत्तै राहत वितरणमा खटिएकी प्रसुनाले गोरखा र सिन्धुपाल्चोकमा विद्यालयको भवन निर्माणमा सहयोग जुटाउँदै आएकी छिन् । सिन्धुपाल्चोकको सिपाघाटमा गंगा–जमुना नर्सरी सेन्टर र गोरखाको धावनमा प्रभात उच्च माविको भवन निर्माणमा उनले सहयोग पु¥याएकी छिन् । हुम्लामा प्रसूति केन्द्र खोल्ने सपना बुनेकी उनी समाजसेवाले आत्मसन्तुष्टि दिने गरेको बताउँछिन् ।
सामाजिक सेवाभावसँगै कलाकारितामा पनि उनले समय दिन भ्याएकी छिन् । कलाकारिताकै क्रममा उनले विभिन्न अवार्डहरु समेत हात पारेकी छिन् । नेपाली समुदायले बेलायतमा आयोजना गर्ने विभन्न कार्यक्रमबाट उनी सम्मानित हुँदै आएकी छिन् । पछिल्लो समय बेलायतमा आयोजना भएको पत्रकार रामबहादुर सुवेदीको विश्व भ्रमण विशिष्ट नागरिक सम्मान कार्यक्रमा उनलाई विदेशमा रहेर कलाकारितामा पु¥याएको योगदान स्वरुप विश्व भ्रमण विशिष्ट नागरिक सम्मान अवार्ड प्रदान गरिएको थियो । उनले सन २०१३ मा   मिस पब्लिक च्वाइस एण्ड मिस पर्सनालिटी अवार्ड हात पारेकी थिइन् । वेलायतमा भएको यूके मोडलिङ कम्पिटिसनमा समेत सहभागी भई अवार्ड हात पारेकी थिइन् । उनले आगामी दिनमा पनि नेपाली गीत संगीत, कला साहित्य, मोडलिङ, अभिनय र समाजसेवामा दत्तचित्त भएर लागिपर्ने बताएकी छिन् ।