मनोरंजन

‘उल्झन’को बेल्जियम र बेलायत प्रिमियर भव्य

काठमाडौं, चैत । आफ्नो मातृभूमि छोडेर विगत लामो समयदेखि बेल्जियममा कर्म थलो बनाएका नायक बेनीज्योति ढुंगाना र निर्माता तेजेन्द्र कँडेलले पछिल्लो पटक निर्माण गरेको चलचित्र उल्झनले बेल्जियम र बेलायतमा प्रिमियर शो सम्पन्न गरेको छ । गत आइतबार भएको उक्त प्रिमियरमा त्यहाँ बस्ने नेपालीहरुको उल्लेख्य उपस्थिति रहनुका साथ चलचित्रबाट उत्साहजनक प्रितिक्रिया पाएपछि निर्माण टोली यतिखेर निकै हर्षित बनेको छ । चलचित्रको माग अझै रहेका कारण पनि दुबै ठाउँमा चलचित्रको शो थप्न लागिएको निर्देशक राजु अधिकारीले बताए । 

चलचित्र उल्झनमा मुख्य भूमिका निभाएका नायक ध्रुबदत्तले बेलायत प्रिमियर पनि भव्य बनेको जानकारी दिए । उनले भने– ‘विदेशी भूमिमा पनि नेपाली चलचित्र हेर्ने दर्शकको चाप देखर निकै खुशी छु । नेपाली भूमिमा पनि चलचित्रले दर्शकको राम्रो साथ पाउनेछ ।’ यस्तै चलचित्रका नायक तथा निर्माता बेनीज्योतिको अभिनयलाई दर्शकले खुलेर तारिफ गरेका छन् । नायक बेनिज्योतिले भने–‘विदेश प्रिमियरबाट दर्शकको तारिफले दंग छुँ, नेपाली दर्शकको पनि यस्तै साथ र अपेक्षा पाउने आशा राखेको छुँ ।’
बेलायतको एम्पायर हल अलडरसटमा गत आइतबार एक भब्य समारोहबीच रेड कार्पेट प्रिमियर सम्पन्न भएको हो । बेलायतका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुबेदीको प्रमुख आतिथ्यमा आयोजित प्रिमियर सो मा एनआरएन यूकेका अध्यक्ष योग कुमार फगामी, उपाध्यक्ष शेर बहादुर सुनार, पुनम गुरुङ्ग , सुशीला राई, पूर्व अध्यक्षहरु सूर्य गुरुङ्ग, मुक्षेत्र गुरुङ्ग, सहारा यूकेका मीन बहादुर गुरुङ्ग, त्यस्तै  सनम कुमार बैराग, सपन कुमार राई लगायत बेलायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । विभन्न सपना बोकेर बिदेशिएको युवा, उसको भोगाई र त्यसले घर समाजमा पारेको असरलाई चलचित्रको मुख्य कथावस्तु बनाइएको छ । 
यसैबीच चलचित्रको अर्को शो यही आउँदो आइबार बेलायतकै ‘साऊथ ह्यरो’मा प्रदर्शन हुनेछ भने ३१ मार्चमा स्वीडेन र अन्य शहरहरुमा पनि प्रदर्शन गरिनेछ । चलचित्रमा ध्रुब दत्त, रजनी केसी, बेनी ढुङ्गाना लगायतका कलाकारहरुको अभिनय रहेको छ । तेजेन्द्र कंडेल प्रस्तुतकर्ता रहेको उल्झनको निर्माताहरुमा नबिन अधिकारी, हरी कार्की र कार्यकारी निर्मातामा नारायण ढुगाना रहेका छन् । निर्माता ढुंगानाले बेलायतमै बसेर विगत लामो समयदेखि नेपाली चलचित्र, कला संस्कृति र गीत संगीतमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । चलचित्रको नेपाल प्रदर्शन मिति भने तोकिएको छैन ।