समाचार

नेपालबाट चोरिएका मूर्ति फिर्ता लिएर नेपाल पुग्यो टोली

गोकुल श्रेष्ठ, न्यूयोर्क

विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका ल्याएका चार वटा पुरातात्विक मूर्तिहरु नेपाल पुर्याईएको छ ।
न्यूयोर्क स्थित नेपाली महावाणिज्य दुतावाससँगको समन्वयमा नेवाः गुठीले उक्त पुरातात्वीक मूर्तिहरु नेपाल पुर्याएको हो । मूर्ति नेपाल पठाउनका लागि ठूलो आर्थिक रकम लाग्ने भएपछि कार्यवहाक महावाणिज्य दूत विष्णु प्रसाद गौतमको पहलमा नेवाः गुठी न्यूयोर्कले त्यसको व्यवस्थापन गरेको हो ।
नेवाः गुठी न्यूयोर्कका अध्यक्ष विजयमान सिं ले आफ्ना देवतालाई उनकै वासस्थानमा फर्काउन पाउँदा निकै खुशी लागेको भन्दै यो कार्यमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो । मूर्तिलाई सुरक्षित ढंगले नेपाल पुर्याउनकालागि अध्यक्ष सिं र संघका कोषाध्यक्ष प्रेम गोपाल महर्जन स्वयं नेपाल जानुभएको हो । मूर्ति नेपाल पुर्याउन लागेको खर्च गुठीले छिटै सार्वजनिक गर्ने जनाएको छ । 
तस्करहरुले अमेरिका ल्याएका उक्त पुरातात्वीक मूर्तिहरु अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको थियो । मूर्तिहरु गत महिना न्यूयोर्क स्थिति जिल्ला सरकारी वकिलको कार्यालयमा विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दुतावास मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । 
१६ औं र १७ औं शताब्दीका नेपालका पुरातात्विक मूर्ति लामो अनुसन्धानपछि अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको हो । जसमा दुई वटा भैरव मास्क रहेका छन् भने शिव  पार्वती (उमा महेश्वर) र दुर्गाको ढुंगाको मूर्ति रहेका छन् ।  
नेपालबाट चोरी तस्करी गरी अमेरिका ल्याईएका नेपालका पुरातात्विक वस्तुहरु फिर्ताका लागि सहयोग गर्न जिल्ला न्यायाधिवक्ताको कार्यालयलाई नेपाली महावाणिज्य दुतावास, न्यूयोर्कले अनुरोध गरेको थियो ।
न्यूयोर्कस्थित नेपाली महावाणिज्य दुतावासको पटक पटकको पहलपछि अमेरिकी सरकारले लामो अनुसन्धानपछि मात्र यी मूर्तिहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
यसअघि महावाणिज्य दुतावासको पहलमा १०औं शताब्दीदेखि १७औं शताब्दीका १६ वटा पुरातात्विक मूर्ति तथा वस्तु स्वदेश फर्काउन नेपाल सरकार सफल भएको छ । 
युनेस्कोको महासन्धि अनुसार चोरी भएका एवं विदेशी यात्रीहरुले उचित मूल्य तिरेर लगेका मूर्ति नेपालले दाबी गरेको खण्डमा फिर्ता गर्नुपर्ने प्रावधान अनुरुप यी पुरातात्वीक मूर्तिहरु नेपाल सरकारले प्राप्त गर्न सफल भएको हो । 
१६ औं शताब्दीको भैरवको मुखुन्दो न्यूयोर्कमा रहेको रुबिन म्युजियम अफ आर्टले नेपाल सरकारलाई फिर्ता गरेको हो । उक्त भैरवको मुखुन्दो सन् १९९४ मा दोलखाबाट चोरी भएको विवरण सार्वजनिक भएपछि यसको अनुसन्धान सुरु भएको थियो । रुबिन म्युजियम अफ आर्टले आफ्नै पहलमा अनुसन्धानलाई अघि बढाउँदै त्यसका लागि न्यूयोर्कमा रहेको नेपाली महावाणिज्य दुतावाससँग समन्वय गरेको थियो । त्यो लगत्तै दुतावासले आवश्यक प्रमाण जुटाएपछि रुबिनले मूर्ति नेपाललाई फिर्ता गर्ने बाँकी प्रकृयाका लागि म्यानहटन डिस्ट्रिक्ट एटोर्नी कार्यालयलाई स्वीकृति दियो ।
म्युजियमले भैरवको उक्त मुखुन्दो सन् २००५ मा प्राप्त गरेको जनाएको छ । म्युजियममा पुग्नु अगाडि उक्त मुखुन्दो आर्ट ग्यालरीमा किनबेच गरिएको थियो भने त्यस अघि सन् १९९६ मा सार्वजनिक लिलामीमा समेत राखिएको थियो । यो मूर्ति मध्यकालीन नेवार शिलालेखहरूसँग सम्बन्धित रहेको र जसले आकाश भैरव जस्ता मुखौटाहरूलाई जनाउँने बताईएको छ । 
सन् १९७० मा भएको ‘सांस्कृतिक सम्पत्तिको स्वामित्व, अवैध आयात, निर्यात र स्थानान्तरणको निषेध र रोकथाम सम्बन्धी महासन्धि’ले चोरी निकासी भएर विदेश पुगेका मूर्तिको हकमा विना क्षतिपूर्ति र उचित मूल्य दिएर खरीद गरेको मूर्तिको हकमा क्षतिपूर्ति दिएर मूर्ति फिर्ता गर्न सक्ने व्यवस्था गरेको छ । 
महासन्धिको दफा ७ मा राष्ट्रिय कानूनको अधीनमा रही गैरकानूनी रूपमा अर्को मुलुकमा निर्यात गरिएका सांस्कृतिक सम्पत्ति प्राप्त गर्नेबारे मूल राज्यलाई अर्को राज्यले सूचना दिनुपर्ने उल्लेख छ । अर्थात् उक्त महासन्धिको पक्ष राष्ट्रमा नेपालको मूर्ति वा अन्य सांस्कृतिक वस्तु निकासी भएको जानकारी भएमा सम्बन्धित देशले सो बारे जानकारी गराउनुपर्ने व्यवस्था छ भने मूर्तिको स्रोत राज्यको कुनै पनि सांस्कृतिक सम्पत्ति पुनःप्राप्ति र फिर्ता लिन उचित कदम चाल्ने सम्बन्धमा व्यवस्था गरिएको छ । त्यस्तै कुनै पनि मुलुकबाट चोरी निकासी गरिएको मूर्ति भएमा क्षतिपूर्ति दिनु नपर्ने तर कुनै कारणले खरीद गरेर लगेको प्रमाण भेटियो भने क्षतिपूर्ति तिरेर मूर्ति एवं सांस्कृतिक वस्तु फिर्ता ल्याउन सक्ने व्यवस्था गरिएको छ ।