समाचार

ललितपुरका मयेर चिरिबाबुलाई न्यूयोर्कमा स्वागत

न्यूयोर्क । अमेरिका भ्रमणमा रहनुभएका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई नेवाः गुठी न्यूयोर्कले स्वागत गरेको छ ।
न्यूयोर्कमा आयोजना गरिएको कार्यक्रममा गुठीले मेयर महर्जनलाई स्वागत तथा सम्मान गरेको हो । पूर्ण नेवारी भाषामा सञ्चालन गरिएको कार्यक्रममा मेयर महर्जनले ललितपुर महानगरपालिका सम्पदा संरक्षण र पुर्ननिर्माणका कार्यलाई तिब्रता दिएको भन्दै त्यसका लागि शुन्य सहनशिलता अवलम्बन गरिएको बताउनु भयो । उहाँले संम्पदाको क्षेत्रमा सार्वजनिक खरिद ऐन बाधक भएको भन्दै उक्त ऐन सच्याउनु पर्ने बताउनु भयो । सम्पदाको पुर्ननिर्माण फरक प्रकृतिको हुने भएकोले प्रतिष्पर्धी ठेकेदारले सहि ढंगले काम गर्न नसक्ने उहाँले दावी गर्नुभयो ।
गुठीका अध्यक्ष विजयमान सिंको सभापतित्वमा भएको कार्यक्रममा मेयर महर्जनले १० भन्दा बढि ठूला आयोजनाहरु सम्पन्न हुने चरणमा पुगेको भन्दै ललितपुर महानगरपालिकालाई सम्पदाको नमुना सहर बनाउने दावी गर्नु भयो । मेयर महर्जनलाई गुठीका अध्यक्ष सिंले मायाको चिनो प्रदान गर्नु भएको थियो भने मेयर महर्जनले अध्यक्ष सिंहलाई ललितपुर महानगरपालिकाको चिनारी हस्तान्तरण गर्नु भएको थियो ।
रामकृष्ण महर्जनले सञ्चालन गरेको कार्यक्रममा गुठीकी सहकोषाध्यक्ष सजना महर्जनले स्वागत गर्नु भएको थियो भने कृष्णमाया महर्जनले खादा तथा पुष्पगुच्छाले मेयर महर्जनलाई सम्मान गर्नु भएको थियो । त्यस्तै गुठीका संस्थापक अध्यक्ष आदित्यमान महर्जनले संस्थाको बारेमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा नेवाः नखका अध्यक्ष नरेश शाक्य, गुठीका पूर्व अध्यक्ष एवं सल्लाहकार समिर महर्जन लगायतले बोल्नु भएको थियो ।