मनोरंजन

नायक शिवले बनाउने भए ‘एउटा यस्तो प्रेम कहानी’

काठमाडौं, २ बैशाख । पुराना नायक शिव श्रेष्ठ पनि चलचित्र निर्माणमा जुटेका छन् ।  हालै काठमाडौंमा भएको एक कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुनको उपस्थितिमा चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को शुभ मुहूर्त गरिएको हो । कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले अहिले सम्मका चलचित्रभन्दा फरक र राम्रो बनोस् भनेर शुभकामना दिनुभएको छ । ठूलो बजेटमा निर्माण हुन् लागेको चलचित्रम शिव श्रेष्ठले आफ्नो छोरा शक्ति श्रेष्ठलाई डेब्यू गराउने घोषणा गरेका छन् । 

चलचित्रमा प्रियंका कार्की, आयुष्मान जोशी, नरेन खड्का, वर्षा राउत, सन्जोग कोइराला, रेखा फागो, ध्रुव कोइराला र बसुन्धरा भूसाल र शिवानी गिरि लगायत कलाकारको मुख्य भूमिका रहने छ । सो अवसरमा चलचित्र क्षेत्रमा विशिष्ट योगदान गरेका कलाकार, पत्रकार एवं समाजका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा गायक विश्व नेपाली, गायिका तथा नायिका विष्णु चेम्जोङ्गले सो चलचित्रको शीर्षगीत ‘तिम्रो आँखाबाट म संसार देख्न चाहन्छु, एउटा यस्तो प्रेम कहानी लेख्न चाहन्छु’ गाएर उपस्थितहरुलाई मनोरञ्जन प्रदान गरेकी थिइन् ।

फिल्मका लागि सिङ्गापुरका मार्शल आर्ट च्याम्पियन प्रभू श्रेष्ठलाई झिकाइएपछि यसको द्वन्द्व पनि अन्य फिल्मको तुलनामा फरक रहने अपेक्षा गरिरहेकै बेला दर्जनौं हिन्दी फिल्ममा काम गरिसकेका र अहिले पनि सन्नी देओलको फिल्ममा खेलिरहेका नवराज विकलाई समेत खलनायकका भूमिकामा देखा पर्ने भएका छन् ।

भदौमा रिलिज गर्ने तयारीको साथै छिट्टै छायांकनम जान लागेको यस चलचित्रमा मूख्य निर्माताहरूमा दिनेश दर्शनधारी, यशोदा राई रहेका छन् । दिनेश दर्शनधारी र यशोदा राईले यस अघि बागमती चलचित्र निर्माण गरेका थिए ।  यसैगरी सह–निर्माताहरूमा सुनील कट्वाल, दिनेश थापामगर, खुम तामाङ, सुजन गौतम, रामनारायण शाह र निर्देशक तथा फोटोग्राफीमा सुशन प्रजापति रहेका छन् । चलचित्रको छायांकन काठमाडौं, मकवानपुर, जनकपुर, वीरगन्ज, संखुवासभा र विदेशमा समेत सुटिङ्ग गरिने बताइएको छ ।