मनोरंजन

ब्लकबस्टर अवार्ड भव्यरूपमा सम्पन्न

काठमाडौं, ३० चैत । बक्स अफिस फिल्मी क्लब नेपालको आयोजनामा ‘ब्लक बस्टर अवार्ड’ भव्यरुपमा सम्पन्न भएको छ । नयाँ वर्ष २०७५ सालको शुभकामना आदानप्रदानसँगै यो वर्षभरी प्रदर्शनमा आएका सफल चलचित्रका निर्माता तथा निर्देशकहरुलाई अवार्ड प्रदान गरिएको हो ।  काठमाडौंको अर्गानिक चुल्होमा भव्य कार्यक्रमबीच अवार्ड प्रदान गरिएको आयोजक रामबहादुर सुवेदी (आर.के.)ले बताए । वर्षभरी निर्माण भएका चलचित्र मध्ये व्यवसायिक रुपमा सफल भएका निर्माण कम्पनीलाई हौसला प्रदान गर्नको लागि अवार्ड कार्यक्रमको आयोजना गरिएको हो । अवार्ड प्रदानले यो वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये कुन चलचित्र यथार्थ रुपमा हिट भयो भन्ने सन्देश सवैमा जाने आयोजकले अपेक्षा लिएको छ । 
अवार्ड कार्यक्रम महत्वपूर्ण पाँच विधामा प्रदान गरिएको थियो । कार्यक्रममा लामो समयदेखि चलचित्र पत्रकारिता गर्ने तीन व्यक्तित्वलाई पुरस्कार तथा सम्मान समेत गरिएको थियो भने विशिष्ट व्यक्तित्व सम्मान पनि प्रदान गरिएको हो । कार्यक्रममा निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटा लगायत विविध विशिष्ट व्यक्तिहरुको हातवाट अवार्ड प्रदान गरिएको हो । यो वर्ष प्रदर्शनमा आएका ९३ चलचित्रमध्ये व्यावसायिकरुपमा सफलता हासिल गर्ने उत्कृष्ट निर्माता तथा निर्माण कम्पनीलाई सम्मान गरिएको हो । चलचित्र घामपानीबाट निर्माता रामबाबु गुरुङ, निर्देशक दीपेन्द्र लामा सम्मानित भए भने चलचित्र राधेबाट निर्माता सुशील पोखरेल सम्मानित भए । त्यसैगरी निर्माता निर्देशक सुदर्शन थापा, निर्मात्री तथा नायिका पुजा शर्मा म यस्तो गीत गाउँछुबाट सम्मानित भए । त्यसैगरी, प्रेमगीत–२ बाट निर्माता सन्तोष सेनलाई अवार्ड प्रदान गरिएको हो । निर्माता सुनिल कुमार थापा, निर्देशक झरना थापालाई ए मेरो हजुर–२बाट सम्मान गरियो भने चलचित्र २ रुपैयाँबाट निर्देशक निश्चल बस्नेत, निर्माता आशिप शाह सम्मानित भए । निर्देशक दिपाश्री निरौला, निर्माता दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, सुमनराज गिरीलाई चलचित्र छक्कापञ्जा–२बाट सम्मानित गरियो । चलचित्र फाटेको जुत्ताबाट निर्माता अर्जुनकुमार डंगोल सम्मानित भए । त्यसैगरी चलचित्र ऐश्वर्यबाट निर्माता रमेश उप्रेती र निर्मल शर्मालाई सम्मान गरिएको हो । चलचित्र झ्यानकुटीकी निर्मात्री निशा अधिकारी र सिमो सुनालाई सम्मान गरियो । मिस्टर झोलेबाट निर्माता निर्देशक रामबहादुर गुरुङ, टेकेन खड्का सम्मानित भए । निर्माता श्रीराम बराल, मौनता श्रेष्ठ, निर्देशक हिमाल केसी– पिँजडा व्याक अगेनबाट सम्मानित भए । यो वर्षको हिट चलचित्र कृबाट निर्माता सुवास गिरी र भुवन केसीलाई सम्मान गरिएको हो ।

त्यसैगरी निर्मात्री तथा नायिका स्वेता खड्का र निर्देशक आकाश अधिकारीलाई चलचित्र कान्छीबाट सम्मान गरिएको हो । निर्माता छवि ओझा, निर्मात्री तथा नायिका शिल्पा पोखरेल, निर्देशक नवल नेपाललाई चलचित्र मंगलमबाट सम्मान गरियो । त्यसैगरी यो वर्षको सर्वाधिक सफल चलचित्र शत्रुगतेबाट मह सञ्चार तथा निर्माता किरण केसीलाई सम्मान गरिएको हो । 
वर्षको ब्लक बस्टर अवार्ड भने चलचित्र छक्का पञ्जा–२ ले हात पा¥यो, त्यसैगरी, इनिसियल कारोबार अवार्ड चलचित्र कृलाई प्रदान गरिएको छ भने सुपरहिट चलचित्र अवार्ड पाँच वटा चलचित्रले हात पारेका छन् । जसमा ए मेरो हजुर–२, २ रुपैयाँ, म यस्तो गीत गाउँछु, प्रेम गीत–२ र शत्रुगते रहेका छन् । यसैगरी  सुपर मार्केट विनिङ अवार्डबाट कान्छी र ऐश्वर्यलाई अवार्ड प्रदान गरिएको हो भने वर्षका लक्की फिल्म अवार्ड घामपानी, झ्याँइ कुटी, फाटेको जुत्ता, मिस्टर झोले, राधे, पिंजडा ब्याक अगेनले हात पार्न सफल भए । त्यसैगरी अर्को पब्लिक च्वाइस अवार्ड विधामा चलचित्र मंगलमले अवार्ड हात पा¥यो । 

कार्यक्रममा ‘अग्रज सुवेदी पत्रकारिता पुरस्कार’बाट तीन जना रंगपत्रकारलाई पुरस्कार राशि– ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको छ । गोरखापत्र दैनिकका दीपक श्रेष्ठ ‘विहीन’, रातोपाटीका कुवेर गिरी र रमाइलो छ डटकमका उत्सव रसाइलीलाई पुरस्कार राशिसहित सम्मान गरिएको हो । त्यसैगरी हालै (द टेलिग्राफ)को मूल्यांकन अनुसार  वल्र्ड मोस्ट व्यूटिफूल करेन्सीजमा परेका नेपालको चलनचल्तीमा रहेका सिक्का तथा कागजी नोट डिलाइनर सुन्दर श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो । 

कार्यक्रमलाई भव्य र सभ्य बनाउन अश्लेशा इन्टरटेनमेन्ट प्रालिका विश्व गौचन, रेड स्टूडियोका आकाश अधिकारी, सिने जोन स्टूडियोका राजन बुढाथोकी, मल्टिमेट फिल्म रेकर्डिङ स्टूडियोका जीवन थापा, क्लासिक स्टूडियोका दिनेश महरा, बिके फिल्मस् प्रालिका गोपालकाजी कायस्थ, एफ.डी कम्पनी प्रालिका नरेन्द्र महर्जन, एसुमा ट्रेडस् प्रालिका केदार ढुंगाना, ज्याक श्रेष्ठ चलचित्र शिवा तथा पण्डित बाजेको लौरो, प्रदीप पाठक– निर्माता बाह्रमासे चलचित्र, निर्माता–दिनेश पाख्रिन– टिन एज चलचित्रले सहयोग प्रदान गरेका थिए । त्यसैगरी, निर्माता बाबु बलामी– यूज–२, नेपाली किसान, निर्माता– भानु महर्जन जय अम्बे फिल्मस् प्रालि, निर्माता– मनोज शाक्य, निर्देशक– रिमेश अधिकारी– नालापानी, निर्माता– शिव न्यौपाने, बेबी आई लभ यू, निर्माता– तारा थापा ‘किम्भ’, फूलमती थापा एवं सौर्य होटेल एण्ड लज, गोरखा, निर्माता– माधव वाग्ले, चलचित्र चंगा चेट, निर्माता– किसान पोखरेल यो माया कस्तो माया, निर्माता– सुवाश थापा चलचित्र प्रसाद, निर्माता– शक्तिबल्लव घोरासैनी– चलचित्र लम्फू, निर्माता– तेजेन्द्र कँडेल, बेनीज्योति ढुंगाना, राजु अधिकारी चलचित्र– उल्झन, निर्माता– एभरेष्ट सूर्य बोहरा, चलचित्र– भैरे, अमृतलाल प्रधान, स्ट्याण्डर्ड टेलर्स, रोहित रुम्बा– चलचित्र नेप्टे, पुरन थापा– चलचित्र फेरि फेरि, विपिन मल्ल– बीजीबी इन्टरटेन्मेन्ट, रत्न श्रेष्ठ, रोहित कट्टेल, आर. आर. फिल्मस् प्रालि, सुरज प्रधान– वास्तुशास्त्र, त्रिरत्न मानन्धर– अष्टनारायण पिक्चर्स प्रालि, अमृत थिङ तामाङ– गुडमिल अमृत निर्माण सेवा, उज्वल पौडेल, मनोज राठी – ब्याङ्कटेस इन्टरटेन प्रा.लि., सुनिल मानन्धर– श्रीराम बालाजी फिल्मस् प्रा.लि., विवेक सापकोटा– चलचित्र निसाफले सहयोग प्रदान गरेका थिए । 

वि.सं. २०६७ साल काठमाडौं जिल्ला प्रसाशन कार्यालयमा विधिवत रुपमा मुनाफारहित सामाजिक संस्थाको रुपमा २१ सदस्यीय केन्द्रीय कमिटि गठन गरी सञ्चालनमा आएको बक्स अफिस फिल्मी क्लब नेपालले नेपाली चलचित्र, खेलकुद क्षेत्रलाई विशेष रुपमा समेटेर विभिन्न अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।  संस्थामा हालसम्म ९ सय सदस्यहरु आवद्ध भएका छन् । संस्थाले बक्स अफिस दैनिक, बक्स अफिस साप्ताहिक, बक्स अफिस इन्टरनेशनल ग्रुप डटकम, अनलाइन मिडिया निरन्तर रुपमा सञ्चालन गर्नुका साथै कलाकार र समाजका बुद्धिजिवीहरुलाई समेटेर अहिलेसम्म १ सय ३८ औं संस्करण मैत्रीपूर्ण रमाइलो फुटबल आयोजना गरिसकेको छ । क्लबले १० औं संस्करणसम्म ब्लक बस्टर अवार्ड आयोजना गरिसकेको छ ।