मनोरंजन

पासाङका शब्दमा नेपाली तारादेखि नेपाल आइडलसम्मका श्वर

काठमाडौं, पुस । लामो समयदेखि अमेरिकामा रहेर आफ्नै पेशा व्यवसायमा व्यस्त बनेका पासाङ शेर्पा फेरि गीत संगीतमा सक्रिय हुन थालेका छन् । सानैदेखि गीत संगीतमा रुची राख्ने पासाङले थुप्रै गीतमा कलम चलाएका छन् । उनका चर्चित गीतहरुको नाम लिनुपर्दा साँझ ढलेको थाहै पाएन, तल पर्यो सल्लेरी लगायत छन् । उनको ‘नरोउ तिमी’ भने पहिलो गीति एल्बम हो । यस एल्बमको शीर्ष गीतको भिडियो पनि सार्वजनिक भइसकेको छ ।

हिमालको काख सोलुखुम्बुको मुसेखर्कमा जन्मनुभएका पासाङ सिर्जनशील स्वभावका छन् । नयाँ नयाँ प्रयोग र काममा रुची राख्ने पासाङले आफ्नो पुख्र्यौंली पेशाभन्दा फरक पाटो अंगाल्दै आएका छन् । आफूसँगैका साथीभाइ टुरिष्ट गाइट, ट्रेकिङ तथा ट्राभल्स व्यवसायी भए पनि उनले भने कपाल काट्ने काम (शैलुन) व्यवसाय अंगाले । यही फरक पेशाकै कारण उनी अहिले अमेरिकामा स्थापित बनेका छन् । 

सोलुखुम्बुका अधिकांश शेर्पाहरु टुरिष्ट गाइड तथा ट्रेकिङ व्यवसायमा संलग्न भइरहेका बेला उनले भने आफ्नो पहिचानको पेशाभन्दा फरक बाटो रोज्नकै लागि लुकीछिपी कमला श्रेष्ठको व्युटी पार्लरमा हेयर कटिङ र हेयर स्टाइलको ट्रेनिङ लिन पुगेका थिए । त्यो समयमा नेपालमा कपाल काट्ने काम (शैलुन) व्यवसायमा प्रायः भारतीय नागरिक वा तराइ मुलका मधेशीहरु थिए । जसको अहिले पनि निरन्तरता छ । मुख्य शहरी क्षेत्रका प्रायः शैलुनहरु मधेशीहरुले नै चलाएको पाइन्छ । पेशा परिवर्तनका लागि मानसिकता परिवर्तन हुनुपर्छ भन्ने हेक्का राख्ने पासाङलाई यही पेशाले अहिले आत्मविश्वास र आँट दिलाएको छ । 

आज उनी सबैको सपनाको शहर अमेरिकामा व्यावसायिक हेयर स्टाइलिस्ट बनेका छन् ।  भविष्य देखेरभन्दा पनि रहरै रहले पेशा परिवर्तमा होमिएका उनी यही पेशाबाट स्थापित भएकोमा गर्ब गर्छन् । उनको अमेरिकामा बेग्लै पहिचान समेत बनेको छ । उनले अमेरिका पुगेका नेपाली र त्यहाँका स्थानीयलाई सेवा प्रदान गर्नुका साथै नेपाली दाजुभाईलाई पनि रोजगारी दिएका छन् । नेपाली नागरिक मात्र नभएर विदेशीहरुले पनि उनको कामको प्रसंशा गर्दै पहिलो रोजाइमा उनकै पार्लर खोज्ने गर्छन् । पेशा व्यवसाय भन्दा फरक गीत संगीतमा रमाउने सानै देखिको रहर उनीमा कहिल्यै मरेन । त्यही भएर होला अहिले फेरि उनी गीत संगीत सिर्जनमा सक्रिय बन्न थालेका छन् । 
उनले विगत १८ वर्ष अघि आफ्नो जन्मभूमि सोलुखुम्बुमा तयार पारेको ‘तल प¥यो सल्लेरी’ बोलगको गीतमा वरिष्ठ गायक लाक्पा शेर्पाले आवाज दिएका थिए । 
 

त्यसपछि पासाङकै शब्दमा रहेको अर्को गीत ‘साँझ ढलेको थाहै भएन, जुन बलेको थाहै भएन’ सार्वजनिक भएको थियो । उक्त गीत मनमिल्ने जीवन साथीको सहयात्रामा समर्पित थियो । गीतमा गायक लाक्पाले नै श्वर दिएका थिए । उक्त गतीले पनि नेपाली सांगीतिक दुनियाँमा छुट्टै आयाम थप्न सफल भएको थियो । 


अमेरिकाजस्तो व्यस्त शहरमा व्यस्तताका बाबजुत पनि उनले नेपाली गीत संगीतमा समय दिन भ्याएका छन् । यो नेपाल र नेपाली गीतसंगीत प्रतिको माया पनि हो । नेपाली सांगीति दुनियाँमा आधुनिक गीतको खडेरी परेको अवस्थामा यस्ता गीतले जीवन्तता दिने प्रयास गरेको छ । माया र प्रेममा समर्पित ‘नरौ तिमी भन्छौ भने’  बोलको गीत निकै चर्चित समेत बनिसकेको छ । यस गीतलाई  करिब एक महिनामाको अवधिमा झण्डै ११ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् । निकिता थापाको आवाजमा रहेको गीतको म्यूजिक भिडियो पनि निकै आकर्षक बनाइएको छ । 

गीतकार पासाङको गीति एल्बम ‘नरोउ तिमी’ मा समावेश गीतहरुमा मदन दिपदिम, हरि लम्साल, राजकुमार बगर, सुरेश अधिकारी नरेन्द्र प्यासी जस्ता चर्चित संगीतकारहरुले संगीत भरेका छन् भने ल्हाक्पा शेर्पा, निकिता थापा, मेलिना राई, नेपाल तारा दिपक लिम्बू र प्रथम नेपाल आइडल बुद्ध लामाले श्वर दिएका छन् ।