मनोरंजन

गीतकार शेर्पाको ‘नरोऊ तिमी भन्छौं भने...’ गीतको भिडियो सहित

काठमाडौं, मंसिर ।  प्रवासमा रहेर पनि नेपाली गीत–संगीतलाई माया गर्ने धेरै श्रष्टाहरु छन् । ती श्रष्टाहरुमध्ये गीतकार पासाङ शेर्पा पनि एक हुन् । विगत लामो समयदेखि अमेरिकामा बस्दै आएका गीतकार पासाङले आफ्नो पहिलो प्रयासस्वरुप गीति एल्बम ‘नरोउ तिमी’ बजारमा ल्याउने तयारीमा छन् । उनको उक्त एल्बममा समेटिएको टाइटल गीतको भिडियो भने सार्वजनिक भइसकेको छ । ‘नरोऊ तिमी’ एल्बमको टाइट गीतका शब्दहरु निकै कर्णप्रिय छन्–
नरोऊ तिमी भन्छौं भने हास्ने आधार देखाइदेऊ
मेरो कुरा मान्छौं भने मेरो नाऊ मेटाइदेऊ  ।।

त्यसो त गीतकार पासाङ शेर्पाका यो नै नयाँ गीत भने होइन । उनले यसअघि पनि थुप्रै गीतमा कलम चलाएका छन् । तीमध्ये उनका हिट गीतहरुको नाम लिनुपर्दा साँझ ढलेको थाहै पाएन, तल पर्यो सल्लेरी लगायत छन् । उनको ‘नरोउ तिमी’ भने पहिलो गीति एल्बम हो । अहिले यस एल्मबको शीर्ष गीतको भिडियो सार्वजनिक भए पनि केही दिनमा एल्बम नै सार्वजनिक गरिने गीतकार शेर्पाले बताए ।
वास्तवमा कुनैपनि गीतको म्यूजिक भिडयो राम्रो बन्नका लागि शब्द, संगीत, श्वरसँगै निर्देशकीय पाटो महत्वपूर्ण हो । अझ गीतको भावअनुसार अभियन गर्ने कलाकारको पनि उत्तिकै भूमिका रहन्छ । नरोऊ तिमी गीतको हकमा सबै पक्ष अब्बल सावित भएको देखिन्छ ।  गीतले माया प्रेमलाई डुबेका जोडीहरुको भावनालाई सम्बोधन गर्ने प्रयास गरेको छ । अझ मायामा आउने उतार चढावलाई मार्मिक तवरले पस्केको छ भन्दा फरक पर्दैन ।
गीतको भिडियोमा पछिल्लो समयकी चर्चित अभिनेत्री तथा मोडल स्वस्तिमा खड्काले अभिनय गरेकी छन् । स्वस्तिमा खड्कालाई चक्लेटी नायक तथा मोडल अशिष श्रेष्ठले साथ दिएका छन् । ‘कुटुमा कुटु सुपारी दाना...’ बोलको गीतबाट निकै हिट बनेकी स्वस्तिमाका लागि यो भिडियोले पनि उत्तिकै साथ दिने अपेक्षा गरिएको छ ।
चलचित्र निर्देशक निकेश खड्काको निर्देशनमा तयार भएको म्यूजिक भिडियोको गीतमा चर्चित संगीतकार हरि लम्सालले संगीन भर्नुभएको छ भने सुमधुर श्वरका धनी गायिका निखिता थापाले आवाज दिएकी छन् । अर्जुन तिवारीले छायांकन गरेको भिडियोको सम्पादन भने निशान घिमिरेले गरेका हुन् ।  गीतका शब्द, संगीत र कलाकारको अभिनयकै कारण अहिले यस म्यूजिक भिडियोले निकै चर्चा पाएको छ । सार्वजनिक भएको तस्रो दिनमै झण्डै तीन लाख दर्शकले भिडियो हेरिएका छन् ।
गीतकार शेर्पाको गीति गीति एल्बम ‘नरोउ तिमी’ मा समावेश गीतहरुमा मदन दिपदिम, हरि लम्साल, राजकुमार बगर, सुरेश अधिकारी नरेन्द्र प्यासी जस्ता चर्चित संगीतकारहरुको संगीत भरेका छन् भने ल्हाक्पा शेर्पा, निखिता थापा, मेलिना राई, नेपाल तारा दिपक लिम्बू र प्रथम नेपाल आइडल बुद्ध लामाले श्वर दिएका छन् ।

यस्ताे छ भिडियाे