मनोरंजन

पूर्व मिस नेपाल मलिना लागिन् अमेरिकातिर

काठमाडौं, २२ असोज । पूर्व मिस नेपालसमेत रहेकी मलिना जोशीले चलचित्रमा एक पछि अर्को गर्दै असफलता व्यहोरेपछि अन्ततः उनी अमेरिका हानिएकी छन् । झण्डै आधा दर्जन फिल्म गरेरपनि चर्चामा आउन नसकेकी मलिना ‘वुमन इन कन्सर्ट युएस यात्रा’का अमेरिका उडेकी हुन् । 
अक्टोबर ७ देखि अक्टोबर २९ सम्म अमेरिका हुने यो कार्यक्रममा मलिनाले आफ्नो विशेष प्रस्तुती दिनेछिन् । पूर्वमिस नेपाल समेत रहेकी मलिनाको फिल्म यात्रा सोचे जसरी अगाडि बढ्न सकेको देखिदैन । डेब्यूदेखि उनी अभिनित फिल्म कुनैपनि हिट भएका छैनन् । यस वर्ष उनी अभिनित दुई फिल्म प्रदर्शनमा आए ‘संरक्षण’ र ‘लिला’ । तर, यी दुवै फिल्मले नेपाली बक्स अफिसमा खासै राम्रो व्यापार गर्न सकेनन् । लगातार आफू अभिनित फिल्मबाट असफलता हात पार्दै आइरहेकी मलिना अभिनित नयाँ फिल्म ‘रानी’ यही कात्तिक २ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यो फिल्ममा मलिना मुख्य भूमिकामा छिन् । तर, ‘रानी’ प्रदर्शनमा आउन एक हप्तको समय रहेकै बेला मलिना भने चलचित्रको प्रमोसन गर्नुभन्दा अमेरिकाको कार्यक्रमलाई प्राथमिकतामा राख्दै अमेरिका लागेकी हुन् । 
‘रानी’को निर्माण टिमले कात्तिक २ गतेलाई प्रदर्शन मिति घोषणा गरेपछि केहीदिन फिल्मको प्रचार–प्रसारमा देखिए पनि उनले पर्याप्त समय भने दिन सकिनन् । अब उनी फिल्म रिलिज भएपछि मात्र नेपाल फर्किनेछिन् । मलिनाको अनुपस्थितिले फिल्मको प्रचारमा कमी हुने पक्का छ । मलिना मात्र होइन फिल्मका अर्का मुख्य कलाकार अनुप विक्रम शाही पनि अहिले यूकेमा छन् । फिल्मका दुई मुख्य कलाकार नै विदेश भ्रमणमा रहेपछि अहिले निर्माण पक्ष तनाबमा देखिएको छ । मलिना जोशी, सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठको अभिनय रहेको यो फिल्ममा नायक अनुप बिक्रम शाहि नेगेटिभ भूमिकामा छन् । त्रिकोणात्मक प्रेम कथामा अवरोध निम्त्याउने पात्रको अभिनय अनुपले गरेका छन् । फिल्मलाई दयाराम दाहालले निर्देशन गरेका हुन् ।