मनोरंजन

नाटकमा पनि नम्रता अब्बल सावित

काठमाडौं, भदौ । नेपाली फिल्म क्षेत्रमा केही कलाकार रंगमञ्चबाट चलचित्रमा प्रवेश गरेका छन् भने केहीले चलचित्रबाट रंगमञ्चको अभिनयमा उत्सुकता देखाउन थालेका छन् । रंगमञ्चबाटै स्थापित बनिसकेका दयाहाङ राई, सौगात मल्ल लगायतका कलकारहरु अहिले चलचित्रमा निकै जमेका छन् । त्यसो त चलचित्रमा जमेकी नायिका नम्रता श्रेष्ठले नाटकामा पनि आफ्नो सम्भावना उत्तिकै देखाएकी छन् । 
नेपाली समाजमा नाटकप्रतिको रुचि बढ्दै गएका कारण कलाकारहरुको नाटकप्रति मोह पनि बढेको पाइएको हो । काठमाडौंलगायत देशका विभिन्न स्थानमा नाट्यघर खुल्दै गएका छन् । नाटकप्रति दर्शकको रुचि बढ्दै जान थालेको हो । त्यसैले चलचित्रमा अभिनय गर्ने अभिनेता तथा अभिनेत्री पनि नाटकप्रति आकर्षित हुन थालेका हुन् । ३ वटा नाटकमा यसअघि नै अभिनय गरिसकेकी श्रेष्ठले यसपटक ‘गोल्डेन ब्बाइ’ मा अभिनय गरिरहेकी छन् । गत शुक्रबारबाट मञ्चन भइरहेको नाटकमा उनको पनि राम्रै रोल रहेको छ । अमेरिकी रंगकर्मी डेबोरा मेरोलाले निर्देशन गरेको नाटक सन् १९३७ मा अमेरिकामा चर्चित थियो । सो नाटक ‘गोल्डेन ब्वाइ’ को नेपाली संकरणमा श्रेष्ठले अभिनय गरिरहेकी छन् । 
नाटकमा श्रेष्ठसँगै अमृत दाहाल, राजकुमार पुडासैनी र दिव्य देव्य आदिको अभिनय रहेको छ । त्रिपुरेश्वरस्थित ‘वल्र्ड ट्रेड सेन्टर’ मा रहेको ‘कर्मा बार एन्ड लाउन्ज’ मा यो नाटक मञ्चन भइरहेको छ । नाटकमा नम्रताले ‘लोरना मुन’ को भूमिका निर्वाह गरेकी छन् । यो नाटकमा आधारित रहेर हलिउडा चलचित्रसमेत निर्माण गरिएको छ ।