खेलकुद

नवयुग र फुपू उत्कृष्ट, फुटबल टोलीलाई ‘टिम अफ दि इयर’ अवार्ड

काठमाडौं । फुटबलका नवयुग श्रेष्ठ र जुडोकी फुपूल्हामु खत्री विसं २०७२ का उत्कृष्ट पुरुष र महिला खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित ‘स्पोर्ट्स अवार्ड’मा उनीहरु उत्कृष्ट खेलाडी घोषित भएका हुन् । त्यस्तै ‘पिपुल्स च्वाइस अवार्ड’ पुरस्कार टेबलटेनिसकी नविता श्रेष्ठले जितिन् । यी तीनै विधाका विजेताले एक एक थान पल्सर मोटरसाइकल सहित विभिन्न पुरस्कार हात पारेका छन् ।
भारतसँगको मैत्रीपूर्ण खेलबाट अन्तर्राष्ट्रिय फुटवलबाट डेब्यु गरेका नवयुगले ३ ह्याट्रिक गरेर वर्षभरि चर्चाको शिखरमा रहे । २३ वर्षपछि नेपाललाई अन्तर्राष्ट्रिय उपाधि दिलाउँदा उनले उत्कृष्ट मात्रै खेलेनन् नेपाललाई जिताउन महत्वपूर्ण गोल गरेका थिए । त्यसैले नवयुगको उदयलाई कतिपयले नेपालको फुटवलकै नवयुगको संज्ञा दिने गरेका छन् ।
बंगबन्धु गोल्डकपको फाइनमा बहराइनलाई नेपालले ३–० ले हराउँदा उनले १ गोल गरेका थिए । उनले बंगबन्धुमा ४ गोल गर्दै सर्वाधिक गोल र मोस्ट भ्यालुएबल खेलाडीबाट सम्मानित भएका थिए । त्यति मात्र हैन उनले बंगबन्धुमै माल्दिभ्स विरुद्धको खेलमा ह्याट्रिक गर्दै राष्ट्रिय टिमबाट ह्याट्रिय गर्ने पाँचौ खेलाडी समेत भएका थिए । त्यस्तै १२ औं सागमा नेपालले स्वर्णपदक जित्दा नवयुगले सर्बाधिधक ७ गोल गरेका थिए । नवयुगले राष्ट्रिय लिगमा पनि १४ गोल गर्दै वर्षभरि चर्चा कमाए ।  उत्कृष्ट महिला  खेलाडी घोषित भएकी फुपूल्हामुले दक्षिण एसियाली खेकलुदमा २१ वर्षपछि नेपाललाई जुडोमा स्वर्ण दिलाएकी हुन् । सागमा ६३ केजी मुनिको स्पर्धामा नेपाललाई स्वर्ण दिलाएकी थिइन् । स्वर्णको लागि निर्णायक खेलमा भारतकी सुनीबालादेवी हुइदरमलाई वोजारीको आधारमा पराजित गरेकी थिइन् ।

फेसबुक लाइक तथा एसएमएस भोटिङको आधारमा पिपुल च्वाइस अवार्ड जितेकी टेवल टेनिस खेलाडी नविता लगातार पाँचपटक राष्ट्रिय प्रतियोगितामा च्याम्पियन बन्न सफल भएकी थिइन् । त्यस्तै, उनले वुमेन्स सिंगल्समा आठ उपाधि जितेकी छिन् । उनले आफ्नै नन्द एलिना महर्जनसँग मिलेर १२ औं दक्षिण एसियाली खेलकुद सागको वुमेन्स डबल्समा नेपाललाई कांस्यपदक दिलाएकी थिइन् । पिपुल्स च्वाईस अवार्डमा उनले भलिबलकी प्रतीभा माली, फुटबलका नवयुग श्रेष्ठ, क्रिकेटका सन्दीप लामिछाने र भारत्तोलनकी तारादेवी पुनलाई पछि पारिन् ।

त्यसैगरी, वर्षको उत्कृष्ट युवा खेलाडीको पुरस्कार फुटबलका अञ्जन विष्ट घोषित हुँदा उत्कष्ट प्रशिक्षकको पुरस्कार पनि फुटबलकै बालगोपाल महर्जनले प्राप्त गरे । नेपाललाई २३ वर्षपछि उपाधि दिलाए चर्चा बटुलका प्रशिक्षक महर्जनको प्रशिक्षकमा नेपाल बंगबन्धु गोल्डकप च्याम्पियन भएको थियो । यसले २३ वर्षसम्म उपाधि बिहीन भएको नेपाललाई उपाधि दिलाएको हो । त्यस्तै महर्जनकै प्रशिकमा नेपालले १९ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि पनि जितेको थियो । उनले १९ वर्षमुनिको एएफसी च्याम्पियनसिप छनोटमा पनि नेपाली युवा टिम सम्हालेका थिए । महर्जन हाल बंगलादेशको ए डिभिजन क्लब ब्रदर्श युनियनको मुख्य प्रशिक्षक छन् । महर्जन कार्यक्रममा उपस्थित नभएकाले उनका प्रतिनिधिले पुरस्कार लिएका थिए । मञ्चले उनलाई नगद ५० हजार प्रमाणपत्रसहित सम्मान गरेको हो । त्यस्तै महर्जनले डिस होमको सेटअप बक्स र १ बर्षको निशुल्क सुविधा तथा न्यू होराइजन कार्पेट पनि प्राप्त गरेका छन् । साथै पारा एथलिटको पुरस्कार तेक्वान्दोकी सीता भण्डारीले प्राप्त गरिन् ।

त्यस्तै, ‘स्पेसल अवार्ड’बाट अखिल नेपाल फुटबल संघका पूर्व कावा अध्यक्ष स्व ललितकृष्ण श्रेष्ठलाई पुरस्कार प्रदान गरियो । २०५२ सालमा एन्फामा सदस्यका रुपमा प्रवेश गरेयता श्रेष्ठ निरन्तर विभिन्न पदमा रहेर नेपाली फुटबलको विकासमा सक्रिय रहेका थिए । उनले राष्ट्रिय टोलीको व्यवस्थापक, टिम लिडर, एन्फा एकेडेमीको प्रमुख, विभिन्न प्रतियोगिताको संयोजक, एन्फाको सहसचिव, प्रवक्ता, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हँुदै कार्यवाहक अध्यक्ष भएर काम गरेका थिए ।  साढे तीन दशक नेपाली फुटबलको सेवा गरेवापत श्रेष्ठलाई एसियाली फुटबल महासंघ एएफसीले स्वर्ण सेवा पदकबाट सम्मानित गरेको थियो । मञ्चले प्रदान गरेको अवार्ड थाप्दा श्रेष्ठकी श्रीमती निरु निक्कै भावुक भएकी थिइन् । त्यसैगरी, लाइफ टाइम अचिभमेन्ट अवार्डबाट फुटबलका पूर्व राष्ट्रिय खेलाडी तथा फिफा रेफ्री श्रीराम रञ्जितकार पुरस्कृत भए । यी पाँचै विधाका विजेताले जनही रु ५० हजार प्राप्त गरे । वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी, प्रशिक्षक र ‘पिपुल्स च्वाइस’ विधा प्रत्येकमा पाँच पाँच जना मनोनयनमा परेका थिए । अन्य विधाका विजेता कार्यक्रममै घोषणा गरिएको थियो । तेह्रौंँ संस्करणको यस सम्मानमा आठ विधा समावेश गरिएको थियो ।


यसैबीच, हरेक वर्ष हुने पल्सर स्पोर्टस अवार्ड अन्तर्गतको टिम अफ दि इयर अवार्डबाट नेपाली राष्ट्रिय फुटवल टिम सम्मानित भएको छ । २३ वर्षसम्म उपाधि बिहीन भएको नेपाललाई उपाधि दिलाएको भन्दै नेपाल खेलकुद पत्रकार मञ्चले राष्ट्रिय फुटबल टिमलाई टिम अफ दि इयर अवार्ड प्रदान गरेको हो । राष्ट्रिय फुटबल टिमले भारतमा भएको १२ औं दक्षिण एशियाली खेलकुद सागको स्वर्ण पदक जितेको थियो । त्यस क्रममा नेपालले आयोजक देश भारतलाई २–१ गोल अन्तरले हराएको थियो । नेपाललाई जिताउन प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठले गोल गरेका थिए । साग अघि नै नेपाली टोलीले बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको फाइनलमा बहराइनलाई ३–० अन्तरले हराएको थियो । त्यसबेला विशाल राई, विमल घर्तीमगर र नवयुग श्रेष्ठले गोल गरेका थिए । यो नेपाली रािष्ट्रय फुटबल टिमले २३ वर्षपछि जितेको पहिलो उपाधि जितयो । खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्ड अन्तर्गतको यो सम्मान वर्षभरी उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई प्रदान गरिन्छ  । २०७० सालको टिम अफ दि इयरको अवार्ड तत्कालिन नेपाली राष्ट्रिय क्रिकेट टिमले पाएको थियो ।