खेलकुद

कुन कुन देशले खेल्ने भए विश्वकप क्रिकेट ?

काठमाडौं, १० चैत । आईसीसी विश्वकप क्रिकेट छनोट खेलमा सुपर सिक्स चरणका खेल समाप्तीसँगै विश्वकपमा खेल्ने १० राष्ट्रको टुंगो लागेको छ । सुपरसिक्सको अन्तिम खेलमा अफगानिस्तानले आयरल्याण्डलाई पराजित गरेसँगै उसले विश्वकपमा स्थान बनाएको हो । सुपरसिक्स अन्तर्गत यस अघि नै वेष्ट इन्डिजले आफ्नो स्थान सुरक्षित गरिसकेको थियो ।
विश्वकप खेल्ने दुई टोलीको टुंगो लागेसँगै अब इंग्ल्याण्ड, अष्ट्रेलिया, भारत, साउथअफ्रिाका,पाकिस्तान श्रीलंका, न्यजिल्याण्ड, बंगलादेश, वेष्ट इण्डिज र अफगानिस्तानले आगामी विश्वकप क्रिकेटका लागि भिडन्त गर्नेछन् । 
अफगानिस्तानले जितका लागि पाएको २ सय ९ रनको लक्ष्य खेल सकिन ५ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । अफगानिस्तानलाई जिताउन ओपनर मोहमह साहजादले ५४ तथा गुलवदिन नाइवले ४५ रन बनाए । यस्तै कप्तान अस्घार स्टानिकजाईले नट आउट ३९ रनको योगदान गरे । विश्वकप छनोटको सुपर सिक्समा पुगेका आयरल्याण्डसहित, जिम्बावे, स्कटल्याण्ड र युएई भने छनोट हुन सकेनन् ।

बिहीबारको खेलमा युएईले स्कटल्याण्डलाई हराएका कारण अफगानिस्तानको भाग्य चम्केको हो । छनोटको समूह चरणमा नेपालले हङकङलाई हराएकै कारण अफगानिस्तान सुपर सिक्समा पुगेको थियो । एक दिवसीय विश्वकप क्रिकेट आउँदो वर्ष इंग्ल्याण्ड र वेल्समा हुने छ ।