खेलकुद

डिपिएल क्रिकेटमा सुनको जुत्ता पुरस्कार !

काठमाडौं, १२ चैत । आगामी चैत १७ गतेबाट हुने दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल–२) को मोष्ट भ्यालुएबल खेलाडीले नेपाली जुत्ताको ब्राण्ड गोल्डस्टारको सुनको जुत्ता पाउने भएका छन् ।
डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) र गोल्डस्टार जुत्ताको किरन सुज म्यानुफ्याक्चर्सबीच आइतबार प्रायोजन सम्झौताका अवसरमा मोस्ट भ्यालुएबल खेलाडीले गोल्डस्टारको ‘सुनको जुत्ता’ पाउने जनाकारी दिएको हो । डिपिएल र किरण शुज म्यानुफ्याक्चर्सबीच फुटवेयर साझेदारी गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
डिपिएलका अध्यक्ष सुवास शाही र किरण शुका निर्देशक विदुषी राणाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । किरण शुजले डीपीएललाई ९ नगद र ७ लाख बराबरको सामाग गरि कुल १६ लाख रुपैयाँ बराबरको प्रायोजन गर्ने बताइएको छ । कार्यक्रममा सुनको जुत्ता सार्वजनिक गरिएको थियो । सुनको जुत्ता सार्वजनिक गरिएपछि किरन शुजकी निर्देशक राणाले डिपिएल–२ अझ बढी सशक्त बनेर आएको बताइन् ।
सुनको जुत्ताको बाहिरी भाग पूरै सुन र भित्री भाग चाँदी रहेको बताइएको छ । गत वर्ष जस्तै डिपिएलको प्लेयर अफ दि सिरिजले मोटरसाइकल पाउने छन् । प्रतियोगिताको विजेताले २५ , दोस्रो हुने टोलीले १०, तेस्रोले ३ र चौथो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियाेगितामा विराटनगर किङ्स, काठमाडौं गोल्डेन्स, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड र टिम चौराहा गरी ६ टोलीको सहभागिता रहनेछ । लिग चरणमा प्रत्येक टोलीले अर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।
लिग पछिका शीर्ष ४ टोली प्ले अफमा पुग्नेछन् । त्यसपछि पहिलो र दोस्रो बीचको प्रतिस्पर्धाको विजेता टोली सोझै फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोली तथा तेस्रो र चौथो टोलीबीचको विजेताबीच अर्को खेल हुनेछ । त्यसको विजेताले फाइनलमा प्रवेश पाउनेछ ।