खेलकुद

ऐतिहासिक मैदानमा नेपालको ऐतिहासिक जित

काठमाडौं । बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो सम्पूर्ण अभ्यास खेलमा जित हात पारेको छ । नेपालले मंगलबार राति विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसीलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको हो ।

लर्ड्समा भएको आफ्नो पहिलो खेलमा नेपाली टोलीले बेलायती क्लब एमसिसीलाइ ४१ रनले हराउन सफल भएको हो । नेपालले प्रस्तुत गरेको दुई सय १८ रनको लक्ष्य पछ्याएको एमसिसी ४७ दशमलव २ ओभरमा एक सय ७६ रन बनाउँदा अलआउट भयो । एमएमसीका ओपनर जर्ज एडरले एक सय रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । नेपालका बसन्त रेग्मीले ३७ रन दिएर तीन तथा सागर पुनले ३५ रन खर्चेर तीन विकेट लिए । यस्तै सोमपाल कामीले ३३ रन दिएर दुई विकेट लिए ।

नेपाल र बेलायतबिच मैत्रिपूर्ण सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा भएको खेल हेर्न लर्ड्स मैदानमा झण्डै पाँच हजार नेपाली दर्शक पुगेका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर दुई सय १७ रन बनायो । क्रिकेटको मक्का मानिने लर्ड्स मैदानमा भएको खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै पारस खड्काले ३०, शरद भेषवाकारले २७, सागर पुनले २६ रनको योगदान गरेका छन् । बसन्त रेग्मीले २४, राजु रिजालले २४, सोमपाल कामीले २० रनको योगदान गरे ।

सन् १७७८ मा स्थापना भएको एमसीसी विश्वकै पुरानो क्रिकेट क्लब हो । नेपाल र बेलायतबीच कुटनीतिक सम्बन्ध स्थापित भएको दुई सय वर्ष पुगेको अवसरका नेपाली क्रिकेट टोली र एमसीसीबीचको खेल आयोजना भएको हो । बेलायत भ्रमणका क्रममा नेपालले यो सहित लगातार पा“चवटा खेलमा जित हात पारेको छ । नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्डस“गको खेलको तयारीका रुपमा बेलायतका विभिन्न क्लबसंग अभ्यास खेल खेलेको हो । च्याम्पियनसिपमा नेपालले नेदरल्याण्डस“ग साउन २९ र ३१ गते उसकै घरेलु मैदानमा खेल्नेछ ।

५ साउन, २०७३ ।