खेलकुद

साउन ४ कुर्दै नेपाली क्रिकेटर, के छ त्यस्तो विशेष ?

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतका दुई खेलको तयारीका लागि नेपाली क्रिकेट टोली बेलायत प्रस्थान गरेको छ । नेपाली टिम जेट एयरवेजमार्फत भारतको दिल्ली हुँदै वेलायत प्रस्थान गरेको हो । नेपाली टोलीले  वेलायतका विभिन्न क्लवसँग ४ वटा अभ्यास खेल खेल्ने छ ।

क्रिकेटको घर मानिने बेलायतको लर्ड्स मैदानमा नेपाली टोलीले मैत्रिपुर्ण खेल खेल्नेछ । नेपाल र बेलायतबिच कुटनीतिक सम्बन्ध विस्तारको २ सय बर्ष पुगेको अवसरमा विश्वकै पुरानो मेरिलेबोन क्रिकेट क्लव एमसिसीसँग मैत्रीपूर्ण क्रिकेट खेल्ने अवसर जुरेको हो ।

एमसिसीसँग प्रतियोगिता खेल्न पाउने भएपछि नेपाली क्रिकेट टोली निकै नै उत्साहित बनेका छन् । नेपाली टोलीका कप्तान पारस खड्काले भने–‘यो हाम्रो लागि सुनौलो अवसर हो, हामी अवसर खेर जान दिनेछैनौं, जसले विश्व क्रिकेट लिग च्याम्पियन्सीपका लागि पनि सहज हुनेछ ।’

लड्समा खेल्न पाउनुलाई नेपाली खेलाडीहरुले आफूलाई भाग्यमानी ठान्दै यस्तो मौका बारम्बार नआउने भएकाले लड्समा नेपाली टोलीले सकेसम्म राम्रो प्रदर्शन गर्ने नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले बताए ।

नेपाली टोलीले इङ्ल्यान्डको म्यारिलेबोन क्रिकेट क्लबसँग साउन ४ गते उसकै घरेलुमैदान (लड्स क्रिकेट मैदान) मा अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाली टोलीले अगस्टमा नेदरल्यान्डसँग उसकै घरेलु मैदानमा विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतका दुई खेल खेल्नेछ ।

बेलायत गएको टोलीमा को को ?
कप्तान–पारस खड्का
उपकप्तान– ज्ञानेन्द्र मल्ल
अन्य खेलाडीहरुमा शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, सागर पुन र विनोद भण्डारी छन् । त्यस्तै, सुवास खकुरेल, करणकेसी, अनिलकुमार मण्डल, सन्दीप लामिछाने, बिक्रम सोब, राजु रिजाल तथा राजेश पुलामी मगरसमेत रहेका छन् ।

२८ असार–२०७३ ।