खेलकुद

स्वर्गीय सूर्य कुमारको सम्झनामा फुटसल हुँदै

काठमाडौं । स्वर्गीय पत्रकार सूर्यकुमार क्षेत्री प्रथम राष्ट्रिय अन्तर मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ ।

ललितपुरमा  गोलपोष्ट स्पोर्टस एण्ड ट्रेनिङ सेन्टरले पत्रकार सम्मेलन गरी राष्ट्रिय अन्तर मिडिया फुटसल प्रतियोगिता आगामी साउन १० गतेदेखि सञ्चालन हुने जानकारी गराएको हो । विभिन्न सञ्चार माध्यमको सहभागिता रहने प्रतियोगिताको विजेताले २५ हजार, उपविजेताले १५ हजार तथा तेस्रो हुने टिमले १० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुने एक टिमलाई २ हजार प्रवेश शुल्क लाग्ने छ । प्रतियोगिताको आयोजनाबाट उठेको रकम पत्रकार क्षेत्रीका छोराको पढाइमा खर्चिनेछ । तीन दिन चल्ने प्रतियोगिताका सबै खेल भैसेपाटीस्थित गोलपोष्ट स्पोर्टस एन्ड ट्रेनिङ सेन्टरमा हुनेछन् ।

नेपाल प्रेस युनियनका सचिवसमेत रहेका पत्रकार क्षेत्रीको दुई महिनाअघि ब्रेन ट्युमरका कारण निधन भएको थियो । खेल क्षेत्रको विकाससँगै पत्रकार क्षेत्रीका छोराको उज्जवल भविष्यका लागि थोरै भए पनि सहयोग हुन्छ भनेर प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रवेश फारम त्रिपुरेश्वरस्थित कार्यालय र गोलपोष्टको कार्यालय भैंसेपाटीमा  पाइनेछ ।