खेलकुद

पोर्चुगल फाइनलमा, अर्को को फ्रान्स कि जर्मनी ?

काठमाडौं ।  पहिलो सेमीफाइनलमा वेल्सलाई हराउँदै पोर्चुगल युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा वेल्सलाई २–० ले हराउँदै पोर्चुगल फाइनलमा पुगेको हो ।

पोर्चुगलको जितमा स्टार खेलाडी तथा कप्तान क्रिष्टियानो रोनाल्डो र नानीले गोल गरे । पहिलो हाफमा दुई तर्फबाट कुनै गोल हुन नसकेपनि खेलको दोस्रो हाफको ५० औं मिनेटमै रोनाल्डोको गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि रोनाल्डोको सुन्दर पासमा नानीले गोल गरेका थिए ।

रोनाल्डोको सो गोलसँगै उनले  युरोपियन च्याम्पियनसिपको इतिहासमै भन्दा बढी  गोल गर्ने  किर्तिमान नजिक  छन् । यस अघि युरोकपमा सर्वाधिक गोल गर्ने फ्रान्सका मिचेल प्लाटिनीको रेकर्ड बराबरी गरेका छन् । रोनाल्डोले जारी युरोपकमा ३ गोल गर्दै प्लाटिनीको नाममा रहेको ९ गोलको रेकर्ड बराबरी गरेका छन् ।

खेल पोर्चुगलको भन्दा वेल्सको केही राम्रो भएपनि वेल्सका खेलाडीले गोल गर्ने अवसर सृजना गर्न सकेनन् । ५० औं मिनेटसम्म वेल्सले पोर्चुगललाई दबाबमा राखेको थियो । पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगेको वेल्सको ऐसिहासिक यात्रा सकिएको छ। यो सँगै पोर्चुगल दोस्रो पटक युरोकपको फाइनलमा पुगेको छ । यसअघि सन् २००४ मा पनि पोर्चुगल फाइनलमा पुगी ग्रिससँग पराजित भएको थियो । पोर्चुगलले अब फ्रान्स र जर्मनी मध्ये एकसँग खेल्नेछ । विहीबार राति पौन १ बजे फ्रान्स र जर्मनीबीचको खेल हुँदैछ ।