खेलकुद

युरोकपः आइसल्याण्डसामु इंग्ल्याण्ड बन्यो निरीह

काठमाडौं । फ्रान्समा जारी युरोकप फुटबल अन्तर्गत गए राति भएको खेलमा आइसल्याण्डले इँग्ल्याण्डलाई हराउँदै अन्तिम ८ आठको यात्रा तय गरेको हो । पहिलो पटक युरोकप खेलिरहेको उत्तरी युरोपको सानो मुलुक आइसल्याण्ड फुटबलको महारथी टोली इंग्ल्याण्डलाई हराउँदै प्रतियोगिताको क्वटरफाइनलमा प्रबेश गरेको हो।

अविश्वसनीय नतिजा निकाल्ने क्रममा आइसल्याण्डले इंग्ल्याण्डलाई २–१ ले हराउन सफल भयो । पछाडि परेको स्थितिलाई उल्टाउँदै आइसल्याण्डले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । खेल सुरु भएको चौथो मिनेटमै इंग्ल्याण्डका कप्तान वायेने रुनीले पेनाल्टीमार्फत अग्रता दिलाएका थिए । आइसल्याण्डका गोलरक्षक हल्डोरसनले इंग्लिस फर्वाड रहिम स्टिर्लिङलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

तर इंग्ल्याण्डको अग्रता २ मिनेटपनि टिक्न सकेन । छ्रैटौं मिनेटमा रग्नर सिगुरोसनले बराबरी गोल फर्काए । १८औं मिनेटमा आइसल्याण्डले अप्रत्यासित अग्रता लियो । कोल्वेइन सिग्पोर्सनले गोल गरे र टोलीलाई दुई एकको अग्रता दिलाए ।

दोस्रो हाफमा इंग्ल्याण्डले खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन । क्वाटरफाइनलमा आइसल्याण्डको भेट आयोजक फ्रान्ससँग हुनेछ ।

फ्रान्सले यसअघि आयरल्याण्डलाई हराएर क्वाटरफाइनलमा पुगिसकेको छ । पहिलो पटक युरोकपमा छनौट भएको आइसल्याण्डको जनसङ्ख्या मात्र ३ लाख २३ हजार छ ।  विश्व वरियातामा ११औं स्थानमा रहेको इंग्ल्याण्डले आइसल्याण्डलाई हराउन सकेन ।

अबको खेल तालिका

बिहीबार
पोल्याण्ड र पोर्चुगल

शुक्रबार
वेल्स र बेल्जियम

शनिबार
जर्मनी र इटली

आइतबार
 फ्रान्स र आइसल्याण्ड