खेलकुद

जर्मनी, बेल्जियम र फ्रान्स अन्तिम ८ मा

क्वार्टरफाइनलमा कस्को भेट को सँग ?

काठमाडौं । फ्रान्समा जारी युरोकप फुटबल अन्तर्गत आइतबार राति भएको दोस्रो प्री–कार्टरफाइनलमा तीन वटा खेल मध्ये आ–आफ्नो खेलमा जित हात पार्दै जर्मनी, बेल्जियम र फ्रान्स अन्तिम ८ मा प्रवेश गरेका छन् ।

स्लोभाकियालाई हराउँदै विश्व विजेता जर्मनी युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो । आइतबार राति भएको खेलमा स्लोभाकियालाई ३–० ले हराएर जर्मनीले अन्तिम ८ मा स्थान बनाएको हो । लिलेमा भएको खेलमा जर्मनीलाई जित दिलाउन जेरोम बोटाङ, मारियो गोमेज र जुलियन ड्राक्सलरले एक एक गोल गरे ।

८ औं मिनेटमा नै बोटाङले २५ यार्डबाट गरेको सुन्दर भलिगोलबाट जर्मनीले सुरुवाति अग्रता लियो । ४३ औं मिनेटमा गोमेजले गोल गरेपछि पहिलो हाफमा जर्मनीले २–० को अग्रता लियो । त्यसअघि १४ औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा जर्मनीका मेसुट ओजिल गोल गर्नबाट चुकेका थिए । ६३ औं मिनेटमा ड्राक्सरले गोल गरेपछि जर्मनीले ३–० को जित सुनिश्चित ग¥यो । स्लोभाकियाका जुराज कुस्काले हेडर बल जर्मनीका गोलरक्षक म्यानुएल नुएरले सुन्दर बचाउ गरे । जर्मनीले अब अन्तिम ८ मा स्पेन र इटाली मध्ये एकसँग खेल्नेछ ।

यसैबीच, आइतबार राति नै भएको अर्को खेलमा हंगेरीलाई हराउँदै बेल्जियम अन्तिम ८ मा प्रवेश गरेको छ । हंगेरीलाई ४–० ले हराएर बेल्जियमले अन्तिम ८ मा स्थान बनाएको हो । बेल्जियमको जितमा टोबी एल्डावेरल्ड, मिचु बाट्शुयी, इडन हर्जाड र यानिक काररास्कोले एक–एक गोल गरे ।

एल्डावेरल्डले १० औं मिनेटमा नै गोल गर्दै बेल्जियमलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको बेल्जियमले दोस्रो हाफमा थप तीन गोल गर्यो, त्यो पनि अन्तिमको १३ मिनेटमा । ७८ औं मिनेटमा बाट्शुयी तथा त्यसको एक मिनेटपछि हजार्डले गोल गरेपछि बेल्जियमको अग्रता ३–० मा पुग्यो ।

इन्जुरी समयमा काररास्कोले गोल गर्दै बेल्जियमलाई ४–० को जित दिलाए । प्रतियोगितामा हंगेरी अभागी सावित भयो । हंगेरीलाई हराएको बेल्जियमले क्वाटरफाइनलमा अब वेल्ससँग खेल्ने छ । वेल्स शनिबार भएको खेलमा जित हात पार्दै अन्तिम ८ मा पुगिसकेको छ ।

त्यस्तै, आइतबार बेलुका भएको खेलमा आयोजक फ्रान्सले रिपब्लिक अफ आयरल्याण्डलाई २–१ गोल अन्तरले  हराउँदै अन्तिम ८ मा पुगेको छ ।  खेलको दुई मिनेटमै फ्रान्सका स्ट्राइकर पोक्बाले आयरल्याडका खेलाडीलाई डिएरियामा लडाएपछि आयरल्याण्डले पेनाल्टी पाएको थियो ।

पेनाल्टीलाई आयरल्याण्डका रोबी ब्रेडीले गोल गर्दै आयरल्याडलाई अग्रता दिलाए पनि त्यो जितका लागि पर्याप्त भएन ।  दोस्रो हाफको ५८ औं मिनेटमा फ्रान्सका एन्टोनी ग्रिम्यानले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यस्तै एन्टोनीले नै ६१ औं मिनेटमा दोस्रो गोल गर्दै फ्रान्सलाई जित दिलाएका हुन् । आयरल्याण्डका सेन डोफ्रिले डिएरिसया नजिक फ्रान्सका स्ट्राइकर एन्टोनीलाई लडाएपछि डोफ्रीले रेड कार्ड पाएका थिए । डोफ्रीले रेड कार्ड पाएपछि १० खेलाडीमा सिमित आयरल्याण्ड लगातार दबाबमा आएको थियो ।

यसैबीच, यरोकप फुटबल अन्तर्गत आज अन्तिम क्वार्टरफाइनलमा दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा पौन १० बजे उपाधिको दावेदार इटाली र स्पेनबीचको खेल हुँदैछ भने अर्को खेल पौने १ बजे आइसल्याण्डले इंग्ल्याण्डको सामना गर्दैछ ।