खेलकुद

गृह मैदानमै पराजित भयो अमेरिका

न्यूयोर्क । जारी कोपा अमेरिकाको आइतबार तेस्रो स्थानका लागि भएको खेलमा आयोजक अमेरिका पराजित भएको छ । कोलम्वियाले अमेरिकालाई हराउँदै तेस्रो स्थान हात पारेको हो । आइतबार बिहान सम्पन्न खेलमा आयोजक अमेरिकालाई १–० ले पराजित गर्दै कोलम्विया तेस्रो बनेको हो ।  अरिजोनास्थित फोएनिक्स स्टेडियममा भएको खेलमा कोलम्वियालाई जित दिलाउन कार्लोस बाक्काले निर्णायक गोल गरे।

खेलको ३१ औं मिनेटमा बाक्काले गोल गर्दै कोलम्वियालाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेको आयोजक अमेरिकाले घरेलु मैदानमा बराबरी गर्ने प्रयास गरेपनि सफल हुन सकेन। खेलको अन्त्यतिर दुवै टोलीका खेलाडी रातो कार्डको सामना गरेका थिए ।  कोलम्विया सेमिफाइनलमा चिलीसँग पराजित भएको थियो भने अमेरिका अर्जेन्टिनासँग पराजित भएको थियो।

उपाधिका लागि सोमबार बिहान अर्जेन्टिना र चिलीबीच प्रतिस्पर्धा हुनेछ । गत वर्ष पनि यी दुई बीच भएको फाइनलमा चिलीले अर्जेन्टिनालाई हराउँदै उपाधि जितेको थियो।