खेलकुद

कोपा अमेरिकाः अमेरिकाको शानदार जित

न्यूयोर्क । जारी कोपा अमेरिका फुटबलमा आयोजक अमेरिकाले शानदार जित हात पारेको हो । बुधबार बिहान सिकागोमा भएको समूह ए अन्तर्गतको आफ्नो दोस्रो खेलमा आयोजक अमेरिकाले कोस्टारिकालाई ४–० ले हराउँदै पहिलो जित दर्ता गरेको हो ।
पहिलो खेलमा अमेरिका कोलम्बियासँग २–० ले पराजित भएको थियो । अमेरिकाको जितमा क्लेन्ट डेम्प्सी, जर्मेन जोन्स, बबी उड र ग्राहम जुसीले एक एक गोल गरे ।
नवौं मिनेटमा नै डेम्प्सीले गोल गर्दै अमेरिकालाई सुरुवाति अग्रता दिलाए । ३७ औं मिनेटमा जोन्स र ४२ औं मिनेटमा उडले गोल गरेपछि पहिलो हाफमा अमेरिकाले ३–० को अग्रता लियो । ८७ औं मिनेटमा जुसीले गोल गर्दै ४–० को शानदार जित दिलाए । बलमा नियन्त्रण कोस्टारिकाले बढी लिएको भएपनि गोल भने गर्न सकेन । दुवै टोलीले गोल गर्ने केही राम्रा मौका गुमाएका थिए ।

जितसँगै अमेरिकाले तीन अंक जोडेको छ । पहिलो खेलमा पाराग्वेसँग गोलरहित बराबरीमा रोकिएको कोस्टारिकाले भने अहिलेसम्म एक अंक मात्रै जोडेको छ ।