खेलकुद

सन्दर्भः यूरो कप, चनाखो बन्न अमेरिकी सुझाव

न्यूयार्क । विश्वकप फुटबल जत्तिकै लोकप्रिय युरोकप फुटबल केही दिनमा शुरु हुँदैछ । खेल शुरु हुन केही दिनमात्र बाँकी रहँदा फलानो टिमले उपाधि हडप्छ भन्दै खेलप्रेमीहरुले बाजी राख्न थालिसकेका छन् । जुन १० तारिखदेखि फ्रान्सहमा हुने युरोकपका कारण अहिले फ्रान्स फुटबल मय बनेको छ । फुटबलको रौनक एकातिर हुँदा सुरक्षा चुनौति पनि त्यत्तिकै देखिएको छ । फ्रान्समा पटक पटक भएको चरमपन्थी हमलाका कारण विश्व शक्तिशाली मुलुक अमेरिकाले पनि आतंकवादी हमला हुन सक्ने भन्दै सुरक्षा संयन्त्र कडा बनाउन सुझाव दिएको छ ।

त्यस्तै, अमेरिकाले  फ्रान्समा आतंकबादी हमला हुन सक्ने भन्दै आफ्ना नागरिकलाई शतर्क रहन सुझाएको हो । यसअघि विभिन्न चरमपन्थी हमलामा फ्रान्समा १३० जनाको ज्यान गुमाइसकेका छन्  ।  यसका अलावा फ्रान्ससँग जोडिएको बेल्जियममा पनि ब्रसेल्स एयरपोर्ट तथा मेट्रो स्टेसनमा भएको हमलामा ३२ जनाको मृत्यु भएको थियो । त्यस्तै केही वर्ष पहिलो फ्रान्सको एक पत्रिका ‘चाली हेब्दो’को कार्यलयमा समेत आक्रमण भएको थियो । यी विभिन्न घटनाका कारण फ्रान्स चरमपन्थीको निशानामा छ ।

च्याम्पियनसीप फुटबल प्रतियोगिताको क्रममा पनि चरमपन्थी हमला हुनसक्ने भन्दै शतर्कता अपनाउन अमेरिकाले सुझाव दिएको हो ।  अमेरिकी गृह मन्त्रालयका अनुसार ठूलो सङ्ख्यामा पर्यटकहरु युरोप भ्रमणमा छन् । त्यसैले चरमपन्थी हमला हुनसक्ने सम्भावना पनि त्यतिकै बढेको छ । साथै अमेरिकाले युरो भ्रमण गर्न गइरहेका आफ्ना नागरिकलाई भ्रमणका क्रममा सावधानी रहन अलर्ट जारी गरेको हो । खासगरी पर्यटकीय क्षेत्र, रेष्टुरेन्ट, बजार, बस र रेलमा हमला हुनसक्ने आशंका अमेरिकाको छ । त्यसैले यूरोकपलाई मध्यनजर गरी अहिले ९० हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।


यस्तो छ खेलको रौनकः

आगामी शुक्रबारबाट फ्रान्समा हुन लागेको युरो कप–२०१६ को तयारी अन्तिम अवस्थामा पुगेको छ । खेलमा सहभागी जनाउने राष्ट्रहरु फ्रान्स पुग्ने क्रम जारी रहेको छ । २४ राष्ट्र सहभागी हुन लागेको यो संस्करणको उपाधि कुन राष्ट्रले जित्ला ? फुटबल प्रेमीबीच बहस र प्रतिक्षाको विषय पनि बनेको छ । प्रतियोगितामा  आयोजक फ्रान्स, जर्मनी, स्पेन, इटाली, इंग्ल्याण्ड, पोर्चुगल, बेल्जियम, रोमानिया, अल्बानिया र स्वीजरल्याण्ड रहेका छन् । त्यस्तै, वोल्स्, स्लोभाकिया, रसिया, उत्तरी आयरल्याण्ड, युक्रेन, पोल्याण्ड, टर्की, क्रोएसिया, रिपब्लिक अफ आयरल्याण्ड, चेक रिपब्लिक, अष्ट्रिया, स्वीडेन, आइस्ल्याण्ड र हंगेरी पनि प्रतियोगितामा सहभागी छन् ।

फ्रान्सका १० शहरमा जम्मा ५१ खेल खेलाइनेछ । करिव २५ लाखले रंगशालामै पुगेर फुटबलको मनोरञ्जन लिने अपेक्षा युरोपियन फुटबल महासंघ युइएफएको छ । प्रतियोगिताका लागि अन्य मुलुकबाट करिव १० लाख मानिस फ्रान्स पुग्ने अनुमान गरिएको छ ।

यस्ता छन् उपाधिका दाबेदार हस्तीहरुः

फ्रान्स:(आयोजक )
सन् १९६० को पहिलो संस्करणको युरोकप आयोजना गरेको फ्रान्सले सन् १९८४ दोस्रो पटक उपाधि घरमै राख्न सफल भएको थियो ।
उता २००० मा संयुक्त रुपममा बेल्जियम र नेदरल्याण्डसको आयोजनमा भएको संस्करणमा फ्रान्सले दोस्रो पटक उपाधि चुमेको  थियो । यसपालिको संस्करण आयोजना गरेको फ्रान्सले घरेलु मैदान र दर्शकको साथमा उपाधिको आफ्नै आगनमा राख्ने दाउमा छ । फिफा वरियतामा २१ औं नम्बरमा रहेको घरेलु टोली समर्थकको साथमा उच्च मनोवलका साथ मैदान उत्रिदै छ ।

जर्मनीः
गत सिजनको विश्वकप फुटबलमा आयोजक ब्राजिललाई सेमिफाइनलमा लज्जास्पद हार चखाउदै उपाधी जितेर स्वदेश फर्किएको जर्मनी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सदाबहार दाबेदार राष्ट्र हो ।
फिफा वरियतामा जर्मनी पाँचौं स्थानमा छ । चार पटक विश्वकप र तीन पटक युरो कप जितेको जर्मनी विश्व फुटबलमै सफल राष्ट्रमा गनिने देश हो । सन १९७२ को संस्करणको डेब्यु संस्करणमै उपाधि जितेको जर्मनीले १९८० मा दोस्रो पटक तथा सन १९९६ मा  तेस्रो पटक उपाधि जितेको थियो ।

स्पेनः
डिफेन्डिङ च्याम्पियन स्पेनलाई यो पटक पनि उपाधिको दाबेदार राष्ट्रको रुपमा लिएको छ । लगातार दुई पटक च्यापियन बन्न सफल स्पेन फिफा वरियतामा छैटौं स्थानमा रहेको छ । त्यस्तै, स्पेनले पहिलो पटक सन् १९६४ मा उपाधि जितेको थियो ।
९ पटक युरो कपमा सहभागिता जनाइसकेको स्पेन सर्वाधिक युरो कप खल्ने राष्ट्रको सूचिमा जर्मनी भन्दामात्र पछि छ । अन्तर्राष्ट्रिय फुटबलमा सफल गनिएको स्पेनले युरोकप २००८ , विश्वकप २०१०  र युरोकप २०१२ गरी लगातार तीन ठूला उपाधि जितेको थियो । सन् २०१४ विश्वकपको समूह चरणबाटै बाहिरिएको पीडालाई भुलाउदै, स्पेन युरो कपको १५ औ संस्करणमा पनि उपाधि उचाल्दै ह्याट्रिक गर्ने दाउमा रहेको छ ।

इंग्ल्याण्ड:
अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अघि सधैं चर्चामा रहने इंग्ल्याण्डले अहिले सम्म युरो उपाधि जित्न सकेको छैन् । तरपनि, यस पटक भने इंग्ल्याण्डलाई बलियो राष्ट्रका रुपमा हेरिएको छ ।
फिफा वरियता १० औ नम्बरमा रहेको इंग्ल्यान्ड सन १९६८ मा तेस्रो स्थान र १९९६ मा सेमिफाइनल पुग्नु नै युरो कप फुटबलको सबै भन्दा सुखद अन्त हो ।

इटाली:
चार पटकको विश्व विजेता अनि एक पटकको युरो विजेता इटली साविक उपविजेता हो । सन १९६८ को युरो उपाधि जितेको इटली २००० र २०१२ मा उपविजेतामै चित्त बुझाएको थियो । यस्तै बेल्जियम र पोर्चुगललाई समेत युरो कपको दाबेदारको रुपमा हेरिएको छ ।  प्रतियोगितामा अल्बानिया, आइस्ल्याण्ड, उत्तरी आयरल्याण्ड, स्लोभाकिया र वोल्सले पहिलो पटक सहभागिता जनाउदै छन् ।