खेलकुद

क्रिकेट खेलाडी संघको अध्यक्षमा अग्रवाल

काठमाडौं । नेपाल क्रिकेट खेलाडी संघको अध्यक्षमा पूर्व कप्तान पवनकुमार अग्रवाल चयन भएका छन् । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको हलमा शनिवार भएको वार्षिक साधारण सभाले अग्रवालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का महासचिवमा चयन भएका छन् । क्रिकेट खेलाडीहरुको हक हितमा काम गर्न गठन भएको संघको साधारण सभाले सर्वसम्मतले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिमा पूर्व कप्तान विनोद दास र सीता रानामगर उपाध्यक्ष छन् भने महासचिवमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का छन् । त्यस्तै, अनिल मण्डल सचिव र पृथु वास्कोटा कोषाध्यक्ष छन् । राजु वस्नेत, शक्ति गौचन, ज्ञानेन्द्र मल्ल, निरा राजोपाध्याय र विनोद भण्डारी सदस्य छन् ।

नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । क्रिकेट खेलाडी संघ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गैर नाफामूलक सामाजिक संस्थाका रूपमा दर्ता छ । संस्था दर्ता ऐन अनुसार नेपाल क्रिकेट खेलाडी संघ गएको भदौमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको थियो । शनिबार चयन गरिएको नयाँ कार्यसमितिलाई पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मनिषराज पाण्डेले सफल कार्यकालको शुभकामना सहित बधाइ दिए ।