खेलकुद

साग र बंगबन्धु विजेता खेलाडी सम्मानित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद सागको फुटबलमा स्वर्ण पदक जित्ने पुरुष तथा सागमा रजत जित्ने महिला टिम र बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको उपाधि जित्ने खेलाडीलाई मंगलबार नगद सहित सम्मान गरेको छ ।

हल्चोकस्थित सशत्र प्रहरी बलको कार्यालयमा भएको एक कार्यक्रमका बीच सागमा स्वर्ण जित्ने र बंगबन्धु बिजेता खेलाडी, प्रशिक्षक तथा अफिसियललाई एन्फाले जनही ५–५ लाख रुपैयाँ नगद पुरस्कारबाट सम्मानित गरेको हो । सागमा स्वर्ण जित्दा र बंगबन्धु जित्दा टिममा रहेका खेलाडी तथा अफिसियलहरुले भने जनही १० लाख रुपैयाँ पाएका छन् । यस्तै सागको महिलातर्फ फुटबलमा रजत पदक जित्ने खेलाडी तथा प्रशिक्षकलाई पनि एन्फाले जनही १ लाख रुपैयाँ नगद पुरस्कारबाट सम्मानित गरेको छ ।

नेपालले गत माघ र फागुनमा सम्पन्न सागमा भारतलाई पराजित गर्दै नेपालले साग फुटबलमा २३ वर्षपछि स्वर्ण जितेको थियो । त्यस्तै नेपालले गत वर्षको माघमा बहराइनको यू–२३ लाई पराजित गर्दै बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो । बंगबन्धु गोल्डकप जित्ने टिमका अधिकांश खेलाडी सागको स्वर्ण पदक जित्ने टिमका सदस्य छन् । तर, बंगबन्धु जित्दा नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जन थिए भने गोलकिपर प्रशिक्षक उपेन्द्रमान सिंह थिए । त्यस्तै सागमा स्वर्ण जित्दा टोलीका मुख्य प्रशिक्षक राजुकाजी शाक्य र गोलकिपर कोचमा मृगेन्द्र मिश्र थिए । सागमा महिलातर्फ नेपालले भारतसँग पराजित हुदै रजत पदकमा चित्त बुझाएको थियो । महिला टोलीको मुख्य प्रशिक्षकमा ध्रुब केसी र सहायक प्रशिक्षक कुमार कटवाल थिए ।

खेलाडीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओली, राखेप सदस्यसचिव केशवकुमार बिष्ट, एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतका पदाधिकारीहरुले नगद तथा सम्मानपत्र दिइसम्मानित गरेको थियो ।

एन्फाले यसअघि नै नगद पुरस्कार दिने घोषणा गरे पनि पुरस्कार भने खेलाडीलाई ढिला प्रदान गरिएको हो । एन्फाले सागअघि नै बंगबन्धु गोल्डकप जितेका खेलाडी, प्रशिक्षक र फिजियोलाई जनही ५ लाख दिने निर्णय गरेको थियो । तर, साग गेमको कारण एन्फाले पुरस्कार दिएको थिएन । त्यसपछि सागमा पनि नेपालले स्वर्ण जितेपछि एन्फाले थप नगद पुरस्कारको घोषणा गरेको थियो ।