खेलकुद

एन्फाले पदक विजेता खेलाडीलाई सम्मान गर्दै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगबन्धु विजेता टालीलाई पुरस्कारसहित सम्मान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अतिथ्यमा पदक विजेता खेलाडीहरुलाई सम्मान गर्न लागेको एन्फाले जनाएको छ । सागमा स्वर्ण पदक जित्ने फुटबलमा खेलाडी तथा सागमा रजत जित्ने महिला टिम र बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको उपाधि जित्ने खेलाडीलाई मंगलबार नगद सहित सम्मान गर्न लागेको हो ।

हल्चोकस्थित सशत्र प्रहरी बलको कार्यालयमा बेलुका हुने सम्मान कार्यक्रममा सागमा स्वर्ण जित्ने र बंगबंधु बिजेता खेलाडी, प्रशिक्षक तथा अफिसियललाई एन्फाले जनही ५–५ लाख रुपैयाँ नगद पुरस्कारबाट सम्मानित गर्ने भएको हो । यस्तै सागको महिलातर्फ फुटबलमा रजत पदक जित्ने खेलाडी तथा प्रशिक्षकलाई पनि जनही १ लाख रुपैयाँ नगद पुरस्कारबाट सम्मानित गर्ने एन्फाले जनाएको छ ।

सम्मानित हुने पुरुष फुटबल टोलिका अधिकांस खेलाडी आज मात्रै नेपाल आइपुग्ने छन् । नेपाली टोली लाओससंग मैत्रीपूर्ण खेल खेलेर आज नेपाल फर्कन लागेका हुन् । नेपालले गत माघमा बहराइनको यू–२३ लाई पराजित गर्दै बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो । त्यस्तै भारतलाई पराजित गर्दै नेपालले साग फुटबलमा २३ वर्षपछि स्वर्ण जितेको थियो ।

साग र बंगबन्धु गोल्डकप दुवैमा सहभागी भएका खेलाडीले जनही १० लाख रुपैयाँ पाउने छन् । बंगबन्धु गोल्डकप जित्ने टिमका अधिकांश खेलाडी सागको स्वर्ण पदक जित्ने टिमका सदस्य छन् । सागमा महिलातर्फ नेपालले भारतसंग पराजित हुदै रजत पदकमा चित्त बुझाएको थियो । एन्फाले विजेता खेलाडीलाई पुरस्कार दिने घोषणा पहिले नै गरिसकेको भए पनि अहिले पुरस्कार प्रदान गर्न लागेको हो ।