खेलकुद

हैदरावाद पहिलो पटक च्याम्पियन, डेभिड वार्नर बने हिरो

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटकोसनराइजर्स हैदरावाद पहिलोपटक च्याम्पियन बनेको छ ।
आइतबार राति भएको बैंग्लोर एम चिन्नास्वामी रंगशालमा भएको फाइनल खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८ रनले हराएर हैदरावादले आइपिएलको नवौं संस्करणको उपाधि जितेको हो ।

हैदरावादले प्रस्तुत गरेको २ सय ९ रनको लक्ष्य पछ्याएको बैंग्लोरले सात विकेट गुमाएर दुई सय रन बनाउन सक्यो । बैंग्लोरका क्रिस गेलले ३८ बलमा ७६ तथा कप्तान विराट कोहलीले ३५ बलमा ५४ रन बनाए पनि त्यो उपाधिका लागि पर्याप्त भएन । हैदरावादका बेन कटिङले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले पूरै २० ओभरमा सात विकेटको क्षतिमा दुई सय ८ रन बनायो । उसका लागि कप्तान डेविड वार्नरले ३८ बलमा ६९, बेन कटिङले १५ बलमा नटआउट ३९, युवराज सिंहले २३ बलमा ३८ तथा शिखर धवनले २५ बलमा २८ रन बनाए ।
बैंग्लोरका क्रिस जोर्डनले तीन तथा श्रीनाथ अरविन्दले दुई विकेट लिए । बैंग्लोरका कप्तान कोहली र गेलले पहिलो विकेटका लागि एक सय १४ रनको साझेदारी गरेपनि त्यसपछिका ब्याट्सम्यानले खासै राम्रो गर्न नसक्दा बैंग्लोर उपाधिबाट वञ्चित भयो । एबी डी भिल्लियर्स ६ बलमा मात्रै पांच रन बनाएर आउट हुनु बैंग्लोरका लागि घातक बन्यो ।