खेलकुद

एथ्लेटिको मड्रिड उपाधिको होडबाट बाहिर


काठमाडौं । (एजेन्सी)– स्पेनिस ला लिगा फुटबलको  अन्तर्गत गएराति भएको खेलमा पराजित हुँदै एथ्लेटिको मड्रिड उपाधि होडबाट बाहिरिएको छ । जारी खेलमा खेलमा पुछारको क्लब लेभान्टेसँग अप्रत्यासित रुपमा २–१ ले पराजित भएर एथ्लेटिको मड्रिड उपाधि होडबाट बाहिरिएको हो ।

दोस्रो मिनेटमा नै फर्नान्डो टोरेसले गोल गर्दै एथ्लेटिको मड्रिडलाई सुरुवाती अग्रता दिलाए । तर एथ्लेटिको मड्रिडले यो अग्रता जोगाउन सकेन । ३० औं मिनेटमा कासाडेसुस कास्तानोले लेभान्टेका लागि बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा लेभान्टेका जुजापे रोसीले अन्तिममा गोल गर्दै जित दिलाए । हारपछि पछिल्लो समय शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गर्दै दोस्रो स्थानमा रहँदै आएको एथ्लेटिको मड्रिड तेस्रो स्थानमा झरेको छ ।

लिगको एक खेल बाँकी हुँदा एथ्लेटिको मड्रिड शीर्ष स्थानको बार्सिलोना भन्दा तीन तथा दोस्रो स्थानको रियल मड्रिड भन्दा दुई अंकले पछि छ । बार्सिलोनाको ८८, रियल मड्रिडको ८७ तथा एथ्लेटिको मड्रिडको ८५ अंक छ । यो सिजन अहिलेसम्म ८ खेलमा मात्रै जित निकालेको पुछारको लेभान्टेको ३२ अंक छ ।