खेलकुद

नामिबियाद्वारा नेपालसामु २४० रनको चुनौति

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप प्रतियोगिताअन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा नेपाल र नामिवियाबीचको खेल जारी छ । टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालले  जितका लागि २४० रनको विजयी लक्ष्य प्राप्त गरेको छ ।
पहिले ब्याटिङ गरेको नामिवियाले नामिबियाले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३९ रज बनाएको हो । उत्कृष्ट सुरुवात गरेको नामिबियाका मध्यक्रमका ब्याट्सम्यानहरु चल्न नसक्दा ठूलो योगफल बन्न सकेन । सुरुवाती बीस ओभरमा बिनाक्षति ९५ रन प्रहार गरेको नामिबिया २१औं ओभरमा कप्तान बार्ड आउट भएसँगै विकेट पतनको क्रममा पुग्यो ।

त्यसयता नामिबियाका पाँच ब्याट्सम्यान छिट्टै पेविलियन फर्किए । ओपनरहरु वार्डले ५१ रनको अर्धशतकीय पारी खेले भने अर्का ओपनर जेन ग्रिनले ४७ रन बनाए ।

मध्यक्रममा सुस्त गतिमा रन बनेपछि अन्तिम ओभरमा नामिबियाका पछिल्ला क्रमका ब्याट्सम्यानहरुले नेपाली बलरलाई दवावमा राखेका थिए । ४६औं ओभरमा नेपाली फाष्ट बलर सोमपाल कामीले २० रन दिएका थिए ।

पछिल्ला क्रममा ब्याट्सम्यानहरु जेपी कोट्जेले ३२ र निकोलास स्कोल्सले २२ रनको विष्फोटक पारी खेलेका थिए । त्यस्तै सरेल वर्गरले  अविजित ४३ रन बनाए ।

बलिङतर्फ नेपाली स्पिनरहरु बसन्त, शक्ति र सन्दीपले २र२ विकेट लिए । नामिबियाले दुई विकेट रनआउटमार्फत गुमाएको थियो ।

यसअघि शनिबार सम्पन्न खेलमा नेपालले नामिबियालाई ५ विकेटले हराएको थियो ।

नेपाल दोस्रो खेलमा पनि पहिलो खेलमा जस्तै जित हासिल गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको हो । होम ग्राउण्ड र दर्शकको साथले नेपाली खेलाडीमा निकै नै उत्साहसहित मैदानमा उत्रिएका छन् ।
गत शनिबारको जितसंगै नेपाल आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप प्रतियोगिताको दुई स्थान माथि उक्लिदै छैठौ स्थानमा पुगेको थियो । यसअघि नेपाल प्रतियोगिताको पुछारमा थियो । प्रतियोगिताको शीर्ष स्थानमा नेदरल्याण्ड रहेको छ भने दोस्रो स्थानमा हङकङ छ । आजको खेल नेपाललाई जित्नै पर्ने दबाब छ । सन् २०१८ सालमा हुने विश्वकप छनोटमा समेत स्थान हुने भएकाले प्रतियोगिताको शीर्ष चारमा पर्नका लागि पनि नेपाललाई अबका खेल एक दमै महत्वपूर्ण रहेको छ । सन् २०१५ देखि सुरु भई २०१७ सम्म चल्ने प्रतियोगितामा नेपाल यसअघि स्कटल्याण्ड र पपुवा न्युगिनीसंग पराजित भएको थियो ।