खेलकुद

वाटसनले गरे सन्यासको घोषणा

अस्ट्रेलिया । अस्ट्रेलियन अलराउण्डर सेन वाटसनले टी–२० विश्वकपपछि अन्तराष्ट्रिय क्रिकेटको सबै संस्करणबाट सन्यासको घोषणा गरेका छन् । अस्ट्रेलियाका लागि १ सय ९० एकदिवसीय खेल खेलेका वाटसनले ४०.५४ को औसतले ५,७५७ रन बनाएका छन् भने १६८ विकेट लिएका छन् ।
बाउउनले अस्ट्रेलियाका लागि ५६ टी–२० खेल खेलेका छन् भने आज पाकिस्तानसँग हुने खेलमा पनि समावेस छन् । सन् २०१५ मा टेस्टबाट सन्यासको घोषणा गरेका वाटसन, क्रिकेटको सबै संस्करणमा शतक बनाउने अस्ट्रेलियाका एक्लो खेलाडी हुन् । उनले घरेलु क्रिकेट भने जारी राख्ने बताएका छन् ।
शक्तिशाली ब्याटसम्यानका रुपमा चिनिने वाटसनले सन् २००२ मा अस्ट्रेलियाका लागि एकदिवसीय खेलमा डेब्यु गरेका थिए । उनको उच्च स्कोर भनेको सन् २०११ मा बंगलादेशविरुद्ध बनाएको १ सय ८५ रन हो ।
उनले दुई पटक अस्ट्रेलियाको वर्ष खेलाडीको उपाधि जितेका छन् भने सन् २००७ र २०१५ को विश्वविजेता अस्ट्रेलियाली टोलीको सदस्य रहेका थिए । गत एसेजपछि टेस्टबाट सन्यास लिएका उनले ५९ खेलमा ३,७३१ रन बनाएका थिए भने ७५ विकेट लिए । उनले सन् २०१३ मा एक टेस्टमा कप्तानको भूमिका पनि निर्वाह गरेका थिए ।