खेलकुद

अब यात्रा विश्वकपको, नेपालको जितमा करण नायक

काठमाडौं, ३ फागुन । नामिवियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपाल क्यानडाविरुद्ध १ विकेटको जित हात पार्दै डिभिजन १ मा उक्लिएको छ । जितसँगै नेपालको विश्वकप यात्राको ढोका खुलेको छ । 
क्यानाडाले नेपालसमक्ष प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेपालले अन्तिम ओभरमा लक्ष्य भेट्टाएको हो । नेपालको जितका लागि करण केसी नायक बने । ३१ बलको सामना गरेका केसीले सर्वाधिक ४२ रन जोड्दै म्यान अफ दि म्याच समेत बने । त्यस्तै दिलीप नाथले ४१, रोहितकुमार पौडेलले २७, आरिफ शेखले २६, दिपेन्द्रसिंह ऐरीले १८ रन जोड्नु बाहेक दोहोरो अंक बटुल्न सकेनन् । नेपालका आरिफ शेख बाहेक अन्य खेलाडी क्याच आउट भएका थिए । क्यानाडाका सामान्था विजेरत्नेले १ सय ३ रनको शतकीय पारी खेलेपछि क्यानाडाले नेपालसमक्ष विशाल लक्ष्य प्रस्तुत गरेको हो । नेपालका बसन्त रेग्मीले ३ विकेट लिए । त्यस्तै, सन्दीप लामिछानेले २ तथा शरद भेषवाकर र करण केसीले १–१ विकेट लिए । नेपालले खेलका चार खेलमध्ये पहिलो खेलमा आयोजक नामिवियालाई १ विकेटको जित हात पारेको थियो भने दास्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो । त्यस्तै तस्रो खेलमा यूएईविरुद्ध ४ विकेटको जित हात पारेको नेपालले केन्याविरुद्ध पनि ३ विकेटको जित हात पारेको थियो । 
यसैबीच हिजो नै भएको अर्को खेलमा आयोजक नामिवियालाई हराउँदै संयुक्त अरब इमिरेट्स (यूएई) प्रतियोगिताको शीर्ष दुई स्थानमा रहँदै डिभिजन १ मा उक्लिएको छ । ३ खेलमा जित र २ खेलमा हार व्यहेरोको यूईए नेट रन रेटका आधारमा नामिवियालाई उछिन्दै डिभिजन १ मा प्रवेश गरेको छ । प्रतियोगिताको तेस्रो र चौथो स्थानमा रहेका क्यानडा र नामिविया डिभिजन दुई मै स्थान बनाउन सफल भएका छन् भने प्रतियोगिताको अन्तिम स्थानमा रहेका दुई टोली ओमान र केन्या डिभिजन ३ मा घटुवा भएका छन् ।