खेलकुद

अाइसीसी डिभिजन-टू : शीर्ष दुईमा रहने नेपालको सम्भावना बलियो बन्दै

काठमाडौं, २९ माघ । काठमाडौं, २९ माघ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले आज केन्याको सामना गर्दै छ । जारी प्रतियोगितामा अहिलेसम्म केन्या सबैभन्दा कमजोर टिमका रुपमा रहेको छ । उसले तीनवटै खेलमा पराजय व्यहोरेको छ ।

केन्याविरुद्ध नेपालले सहज जित हात पार्ने अनुमान गरिएको छ । नेपाली खेलाडीको बलिङ पक्ष उत्कृष्ट रहेपछि व्याटिङ पक्ष भने निकै नै फिताले रहेको छ । तर पनि आफ्नो तेस्रो खेलको प्रदर्शनमा नेपालले युएईविरुद्ध ४ विकेटको जित हात पारेको छ । जितसँगै नेपाल दोस्रो स्थानमा उक्लिएको छ । पहिलो स्थानमा क्यानडा रहेको छ ।

३४ ओभरमा छोट्याइएको खेलमा १ सय १५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य ६ विकेटको क्षतिमा २८.५ ओभरमै पुरा गरेको हो । नेपालका लागि कप्तान पारस खड्काले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । पारसले ४८ बलको सामना गर्दै २ चौका र ५ छक्का प्रहार गरे । नेपालले ओपनरद्वय ज्ञानेन्द्र मल्ल र दिलिप नाथलाई सस्तैमा ५ ओभरभित्रै गुमाएको थियो । शरद भेषवाकर (३ रन) र दीपेन्द्र ऐरीलाई ४ रनमा गुमाएको नेपालका लागि कप्तान पारसको पारी महत्वपूर्ण रह्यो ।

अन्त्यमा आरिफ शेख, रोहित पौडेल र सोमपाल कामीले नेपालको जित सुनिश्चित गरेका थिए । यसअघि नेपालले राम्रो बलिङ प्रदर्शन गर्दै ३१ ओभरमा युएईलाई १ सय १४ रनमै अलआउट गर्न सफल भएको थियो । पानी परेर मैदान भिजेकाले खेल ढिलो सुरु भएको कारण खेललाई ३४ ओभरमा झारिएको थियो ।

नेपालका लागि सोमपाल कामी र सन्दिप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गरे । सन्दिपले ७ ओभरमा ३० रन दिँदै ३ विकेट लिए । सन्दिपले आफ्नो पहिलो ओभरमै दुई बलमा दुई विकेट लिँदै खेल नेपालको पक्षमा ढल्काएका थिए । त्यस्तै सोमपाल कामीले ४ विकेट लिए । पारसले बलिङतर्फ पनि २ विकेट लिए भने करन केसीले एक विकेट लिएका थिए ।

सोमपालले पहिलो ओभरमै नेपाललाई विकेट दिलाएका थिए । युएईका लागि साइमन अन्वरले सर्वाधिक ३० रन बनाएका थिए । उनलाई सन्दिपले नै बोल्ड गरेका थिए । नेपालले पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको थियो भने ओमानसँग २३ रनले पराजित भएको थियो ।