खेलकुद

नेपाली क्रिकेट टोली बंगलादेश प्रस्थान

काठमाडौं, १३ कार्तिक । यू–१९ एसिया कप खेल्ने नेपाली राष्ट्रिय युवा टोली बंगलादेश प्रस्थान गरेको छ। नेपाली टोलीले एकहप्ता बंगलादेशमा बिताउनेछ।  एसिया कपको तयारीका लागि नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो। बंगलादेशमा नेपाली टोलीले घरेलु टोलीसँग ३ वटा अभ्यास खेल खेल्नेछ।

नेपाली टोलीले नोभेम्बर २, ४ र ५ मा बंगलादेशी यू–१९ सँग एकदिवसीय अभ्यास खेल खेल्ने तय भएको छ। नेपाली टोलीको आग्रह र बंगलादेशी क्रिकेट बोर्डको आमन्त्रणामा नेपाली टोली बंगलादेश प्रस्थान गरेको हो।

एसिया कप अघि बंगलादेश भम्रण नेपाली टोलीका लागि महत्वपुर्ण रहेको नेपाली टोलीका प्रशिक्षक विनोद दासले बताएका छन्। आफूहरु ब्याटिङमा केन्द्रित हुने एसियाकपमा स्तर सुधार्न यस अभ्यासले महत्वपुर्ण भूमिका खेल्ने उनले बताए।

नोभेम्बर ६ मा नेपाल फर्कने नेपाली टोली त्यसको अर्कोदिन एसिया कप आयोजना स्थल मलेसिया प्रस्थान गर्नेछ। मलेसियामा आगामी नोभेम्बर ११ देखि १९ सम्म यू–१९ एसिया कप हुदैंछ।

गत महिनामा मलेसियामै भएको इस्टर्न रिजन छनोट च्याम्पियन बन्दै नेपाली टोली एसिया कपमा छनोट भएको हो। टोलीमा अघिकांश उक्त प्रतियोगिता खेलेका खेलाडीहरु रहेका छन्।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको नेपाली टोलीमा सन्दिप लामिछाने, रोहितकुमार पौडेल, जितेन्द्रसिंह ठकुरी सन्दिप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, आसिफ सेख, किशोर महतो, शाहब आलम, प्रकाश केसी, कमलसिंह ऐरी र भिम सार्की छन्।

यू–१९ एसियाकपमा टेस्ट मान्यताप्राप्त भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशसहित एसोसिएटका चार टोलीको सहभागिता रहनेछ।