खेलकुद

ब्याडमिन्टन वरीयताः रत्नजित र नङ्शल शीर्ष स्थानमा

काठमाडौं, २३ असोज । नेपाल ब्याडमिन्टन संघले राष्ट्रिय खेलाडीको नयाँ वरीयता सार्वजनिक गरेको छ । संघले आइतबार सार्वजनिक गरेको नयाँ बरियताको शीर्ष आठमा विभागीय टोलीका खेलाडीको बाहुल्य रहेको छ । पुरुषमा नेपाल आर्मीका रत्नजित तामाङ १७४०० अंकसाथ शीर्ष स्थानमा छन् भने महिलामा रत्नकै दिदी आर्मीकी नङशल तामाङ ११६४० अंकसहित पहिलो स्थानमा छिन् ।पुरुषमा नेपाल प्रहरी क्लबका दीपेश धामी (१२६३५), भोजपुरका विकास श्रेष्ठ (१२०५०), नेपाल एपीएफ क्लबका साजनकृष्ण ताम्राकार (११६४५), प्रहरीका विष्णु कटुवाल (१०५१५), एपीएफका सुदीप सेढाईं (९३२५), कैलालीका सन्जिव खड्का (८६५५) र प्रहरीका दीपक बोहरा (८२६५) क्रमशः दोश्रोदेखि आठौं स्थानमा छन् ।
त्यस्तै महिलामा आर्मीकात्रय अमिता गिरी (६६७०) दोश्रो, सरादेवी तामाङ (६१४०) तेश्रो र अनुमाया राई (४८०५) चौथो, एपीएफकी शिक्षा श्रेष्ठ (४६५०) पाँचौं, कास्कीकी पुनम गुरुङ (४१५०) छैटौं, एपीएफकी शोभा गौचन  (३७४५) सातौं तथा जेस्त ब्याडमिन्टन क्लबकी सुनैना मुखियाँ (३४५५) आठौं स्थानमा छन् ।
राष्ट्रिय प्रतियोगिता तथा ब्याडमिन्टन संघले मान्यता दिएको ‘क’ श्रेणीको प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडीको वरीयता निर्धारण गरिएको संघका सचिव नवीनविक्रम शाहले जानकारी गराए । ३–३ महिनाको अन्तरालमा शीर्ष आठ खेलाडीको वरीयता निर्धारण गर्ने संघको नीति अनुसार खेलाडीको वरीयता निर्धारण गरिएको सचिव शाहले जनाएका छन् ।