खेलकुद

व्याकुल माइला गोल्ड कप अाजबाट

काठमाडौं, १९ असोज । व्याकुल माइला गोल्ड कपको सातौं संस्करण यही असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाको दिन सुरु हुने भएको छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६, हिलेपानी–सोक्माटारस्थित दूधकोसी किनारमा प्रतियोगिता सञ्चालन हुने गोल्ड कप मूल समारोह समितिले जनाएको छ । प्रतियोगिताको समापन आगामी २७ गते शुक्रबार हुनेछ । 
समितिका अनुसार अनुसार राष्ट्रिय गान रचनाकार व्याकुल माइलाको नामबाट उनकै जन्मथलोमा विकासमुखी सामाजिक अभियान सञ्चालन गरी पिछडिएको गाउँको समुन्नतिमा योगदान पुर्याउन २०६८ सालदेखि बर्सेनि फुटबल प्रतियोगिता हुँदै आएको हो । प्रतियोगितामा यसपटक २० देखि २२ टिम सहभागी हुँदै छन् । 
उपाधि विजेतालाई चाँदीको कप, मेडल र प्रमाणपत्रका साथै नगद पुरस्कार १ लाख, उपविजेतालाई ५० हजार र तेस्रोलाई २५ हजार प्रदान गरिनेछ । चाँदीको कप प्रथमलाई १०१ तोला, द्वितीयलाई ८५ र तृतीयलाई ६५ तोलाको छ । सबैभन्दा अनुशासित टिमलाई १० हजार नगद राशिको ‘दिल–कर्ण बेस्ट टिम अवार्ड’ प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्ताले पदक र प्रमाणपत्रसहित.५÷५ हजार नगद पुरस्कार पाउनेछन् ।
कपको व्यवस्था बेलायत बस्दै आएका भूतपूर्व ब्रिटिस गोर्खा सैनिक अमृतबहादुर राई, डिल्लीबहादुर राई, नवल राई र श्रीमती गौतामाया राई, कर्णबहादुर राई र श्रीमती दिलकुमारी राईले गरिदिएका हुन् । 
‘खेलकुदको माध्यमबाट विकासको अभियान. भन्ने नाराका साथ आयोजना हुँदै आएको यस खेलकुद प्रतियोगिताको मुख्य उद्देश्य सामाजिक परिवर्तन, रूपान्तरण र विकास रहेको छ’, आयोजक संस्थाले जारी गरेको प्रेस नोटमा लेखिएको छ, ‘व्याकुल माइला जन्मिएको हिलेपानी–सोक्माटार गाउँ एक कुना–कन्दरा हो, विकास निर्माणको दृष्टिकोणले ओझेलमा परेको छ ।’ 
फुटबल खेलका अतिरिक्त विकास  निर्माणको पहल, निःशुल्क स्वास्थ्य शिविर, फुटबल प्रशिक्षण, शैक्षिक सामग्री वितरण, स्थानीय विद्यार्थीका लागि छात्रवृत्तिकोसमन्वय, लोकनृत्य प्रशिक्षण, कृषि तालिम, बायोब्रिकेट तालिम, र्याफ्टिङ, लोकनाचको प्रस्तुति, सांगीतिक कार्यक्रम आदि पनि हुँदै आएको जनाइएको छ । यसपटक लोकसांस्कृतिक नाचको प्रस्तुति, निःशुल्क स्वास्थ्य शिविर, महिला फुटबल प्रतियोगिता र सामाजिक तथा सांस्कृतिक चेतनामूलक चलचित्र प्रदर्शन गरिने भएको छ । प्रतियोगिता आयोजकमा मूल समितिसहित दूधकौशिका प्रावि, नयाँ नेपाल सरोकार समाज र हिलेपानी फुटबल क्लब छन् ।