खेलकुद

विशेष प्रशिक्षणमा नेपाली टोलीको विशेष प्रदर्शन

काठमाडौं, ४ असोज ।  हङकङविरुद्ध यसै महिनाको अन्त्यतिर हुने विश्व कप क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम तयारीका लागि नेपाली टोली यति बेला भारतको चेन्नईमा विषेश प्रशिक्षणमा रहेको छ । 
४ वटा अभ्यास खेलका लागि चेन्नइपुगेको नेपाली टोलीले तमिनाडु प्रिमियर लिगको डिन्डिगुल ड्रयागन्सलाई १ सय ५३ को फराकिलो अन्तरले हराउँदै यात्राको सुखद सुरु गरेको छ । सोमपाली कामी र बसन्त रेग्मीको अर्धशतकको मद्दतमा ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय १६ बनाएको नेपालले विपक्षीलाई भने ६३ रनमै अलआउट गरेको थियो । टोलीलाई जित दिलाउन सागर पुनले ३, सोमपाल र सन्दीप लामिछानेले समान २ तथा सुशिल कडेल र ललितसिंह भण्डारीले समान १ विकेट लिएका थिए ।
त्यसअघि दबाबकाबीच सोमपाल र बसन्तले सातौं विकेटका लागि १ सय ७ रनको साझेदारी गरेपछि नेपालले सम्मानजनक स्कोर बनाएको थियो । सोमपालले ६६ र बसन्तले अविजित ५६ रन बनाए थिए । ७७ बल खेलेका सोमपालले २ चौका र ४ छक्का प्रहार गरे । बसन्तले ८३ बलमा १ चौका र २ छक्का प्रहार गरे ।
त्यसअघि ८५ रन जोड्दा नेपालले महत्वपूर्ण ६ विकेट गुमाएको थियो । ओपनर ज्ञानेन्द्र मल्ले ३९ अर्का ओपनर सागर पुनले १५ र आसिफ शेखले २१ रन बनाए भने अन्य खेलाडी सस्तैमा आउट भएका थिए । डब्लूसिएल च्याम्पियसिप अन्तर्गत नेपाल र हङकङबीच असोजको २७ र २९ गते हङकङमा खेल हुनेछ । नेपाली टोली असोज ११ गते चेन्नईबाट स्वदेश फर्कनेछ ।