खेलकुद

रुनीलाई २ वर्ष प्रतिबन्ध

काठमाडौं, ३ असोज ।  मादक पदार्थ सेवन गरी गाडी चलाएको अभियोग लागेका इंग्ल्यान्डका पूर्व कप्तान वायन रुनीलाई २ बर्ष गाडी चलाउन प्रतिबन्ध लागेको छ । सोमबार अदालतमा उपस्थित भएका रुनीलाई स्टकपोर्ट मजिस्ट्रेट अदालतले २ बर्ष गाडी चलाउन प्रतिबन्ध लगाएको हो ।
अदालतले एभर्टनका ३१ बर्षे स्ट्राइकर रुनीलाई गाडी चलाउन प्रतिबन्धसँगै बिनापारिश्रमिक एक सय घण्टा सामुदायिक काम गर्न समेत आदेश दिएको छ । अदालतमा रुनीले मादकपदार्थ सेवन गरेको स्वीकार गर्दै माफी मागेका थिए । 
रुनी गत भदौ १६ गते इङल्यान्डको चेसायरमा मादक पदार्थ सेवन गरी गाडी चलाइरहेको अवस्थामा पक्राउ परेका थिए । गाडी चलाउँदा मादक पदार्थको मात्रा ३५ माइक्रो ग्राम्स भन्दा कम हुनुपर्नेमा पक्राउ पर्दा उनले सेवन गरेको मात्रा १०४ माइक्रो ग्राम्सको पाइएको थियो ।
अदालतबाट सजाय पाएपछि रुनीले गलत काम गरेको भन्दै माफी मागेका छन् । रुनीले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, “म सार्वजनिक रूपमा माफी माग्न चाहन्छु । मैले नियम विपरित ड्राइभिङ गरेँ । त्यो कार्य मेरो गलत थियो ।” 
यस्तै रुनीले आफ्नो परिवार, एभर्टनका प्रशिक्षक, अध्यक्ष र सबै सदस्यसँग यसअघि नै माफी मागेको बताउँदै अदालतले सुनाएको सजाय आफुले स्वीकार गर्ने बताएका छन् ।
इंग्ल्यान्डका रुनीले गत सातामात्र अन्तर्रा्ष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । म्यानचेस्टर युनाइटेडका पूर्वकप्तान समेत रहेका रुनी इंग्ल्यान्डको अहिलेसम्मकै सर्वा्धिक गोलकर्ता हुन् । रुनी यसै सिजन युनाइटेडबाट पूर्वक्लब एभर्टन फर्किएका थिए ।
सन् ३००३ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका रुनीले इंग्ल्यान्डको लागि ११९ खेलमा ५३ गोलको कीर्तिमान छ । रुनीले दुई वर्षअघि इंग्ल्यान्डका महान खेलाडी चार्लटनले ४५ वर्षअघि बनाएको ४९ गोलको किर्तिमान भंग गरेका थिए । रुनीले युनाइटेडबाट ५५९ खेलमा २५३ गोल गरेका थिए  ।