खेलकुद

नेपालको शुरूवात शानदार, थाइल्याण्ड २६ रनमा अलआउट

काठमाडौं, २६ भदौ । नेपालले मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटको छनोटमा थाइल्याण्ड विरुद्ध शान्दार जित हात पारेको छ । नेपालले थाइल्याण्डलाई २५५ रनको भारी अन्तरले पराजित गरेको हो । 
एकपछि अर्को विकेट लिएको नेपाली बलरसामु थाइल्याण्डका कुनै पनि ब्याट्सम्यान टिकेर खेल्न सकेनन् । थाइल्याण्डमाथि नेपालले उत्कृष्ट बलिङ गर्दै विजयी सुरुवात गरेको छ । नेपालका लागि सन्दिप लामिछाने एक्लैले ७ विकेट लिए । 
नेपाललाई विकेट दिलाउने क्रममा आफ्नो पहिलो ओभर बलिङ गर्न आएका सन्दिप लामिछानेले पहिलो ओभरमा नै दुई विकेट लिदै नेपालका लागि चौथो सफलता दिलाएका थिए । त्यसको एकओभर पछि पुनः आफ्नो दोस्रो ओभर बलिङ गर्न आएका सन्दिपले थप २ विकेट लिन सफल भए । ह्याट्रिक विकेट नजिक पुगेका सन्दिपले चौथो र पाचौ बलमा विकेट लिएका थिए भने यो ओभरमा एक रन पनि दिएनन् । आफ्नो तेस्रो ओभरमा पनि सन्दिपले एक विकेट लिन सफल भए ।
मात्र ४ ओभर बलिङ गर्दै १ ओभर मेडन राखेर ७ विकेट लिदै सन्दिपले आफ्नो क्षमता देखाएका छन् । 
पहिलो ओभरको पहिलो बलमा नै विकेट लिएको नेपालले दोस्रो ओभरमा पनि विकेट लिएको थियो । नेपालका लागि १।१ ओभरमा किशोर महत्तोले नेपालका लागि दोस्रो विकेट लिएका थिए । किशोरले कप्तान अगम संजय शाहलाई १ रनमा आउट गरााएको हो । नन्दन यादवले पहिलो ओभरको पहिलो बलमा थाइल्याण्डका ब्याट्सम्यानलाई आउट गराएका थिए । त्यस्तै, कप्तान दिपेन्द्र सिंह ऐरीले पनि १ विकेट लिए ।
थाइल्याण्डका कुनै पनि खेलाडीले ८ रनभन्दा बढि बनाउन सकेनन् । थाइल्याण्डका लागि पनसकले ८ रन बनाएका थिए । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले थाइल्याण्डलाई २८२ रनको चुनौति दिएको छ । नेपालले उत्कृष्ट ब्याटिङ गर्दै थाइल्याण्ड सामु ठूलो लक्ष्य दिएको हो ।
मलेसियाको अमान क्रिकेट मैदानमा नेपालका लागि अनिल कुमार शाहले ९१ रन बनाए । त्यस्तै, नेपालका लागि प्रनित थापामगरले पनि ५० रनको योगदान दिए । नेपालका लागि सन्पि सुनारले ३२, रोहित कुमार पौडेलले २८, कप्तान दिपेन्द्रसिंह ऐरी र पवन सर्राफले समान २२ रनको योगदान दिए ।
३४ रन हुदा एक विकेट गएको नेपालको ९४ रन हुदा दुई विकेट गएको थियो । थाइल्याण्डका लागि पयुपुथ सुङनार्थले ३ विकेट लिए ।
नेपालले  दोस्रो खेलमा सेप्टेम्बर १३ मा भुटानविरुद्ध खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा सेप्टेम्बर १४ तारिखमा सिंगापुरविरुद्ध खेल्नेछ । समूह बी मा चीन, मलेसिया, हङकङ र म्यानमार छन् । छनोटको फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछ ।