खेलकुद

तेस्रो पटक नाडाललाई युएस ओपनको उपाधि

एजेन्सी, २६ भदौ ।  विश्व नम्बर एक स्पेनिस खेलाडी राफायल नाडालले युएस ओपन टेनिसको उपाधि जितेका छन् । सोमबार बिहान भएको फाइनलमा दक्षिण अफ्रिकाका केभीन एन्डरसनलाई ३–० को सोझो सेटमा पराजित गर्दै नाडालले उपाधि जितेका हुन् ।
अमेरिकाको न्युयोर्कमा बर्षको अन्तिम तथा चौथो ग्राण्डस्लाम युएस ओपनको उपाधि जित्ने क्रममा नाडालले एन्डरसनलाई ६–३ , ६–३ र ६–४ को सेटमा पराजित गरे । ३१ बर्षीय नाडालको यो तेस्रो युएस ओपनको उपाधि हो ।
यो उपाधिसँगै नाडालले आफ्नो करियरको १६ औं ग्राण्डस्लाम टेनिसको उपाधि आफ्नो बनाउन सफल भए । नाडाल पुरुष एकलतर्फ सबैभन्दा बढी ग्राण्डस्लाम जित्ने खेलाडीको दोस्रो स्थानमा छन् । हालसम्म १९ पटक ग्राण्डस्लाम जितेका स्विस रोजर फेडेरर शीर्ष स्थानमा छन् ।