खेलकुद

मेस्सीकाे ह्याट्रिकमा बार्सिलाेनाकाे शानदार जित

काठमाडाैं, भदाै ।  कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेपछि स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । मेस्सी प्रेणित खेलमा बार्सिलोनाले शनिबार राति स्पानियोललाई ५–० को गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमै दुई गोल गरेको थियो । पहिलो हाफको २६ औं र ३५ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए । दोस्रो हाफको ६७ औं मिनेटमा मेस्सीले व्यक्तिगत तेस्रो गो गर्दै ह्याट्रिक पुरा गरे । बार्सिलोनाबाट मेस्सीको यो ३८ औं ह्याट्रिक समेत हो ।
खेलको ८७ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनाको अग्रता ४ – ० को बनाए ।  त्यसपछि खेलको ९० औं मिनेटमा लुइस स्वारेजले एक गोल गरेपछि बार्सिलोनाले ५–० को फराकिलो जित निकाल्यो ।
यो जीतपछि शीर्ष स्थानको बार्सिलोनाको ३ खेलबाट ९ अंक जोडेको । बार्सिलोना अपराजित रहेको छ । शनिबार राति नै एइबरलाई ३–० ले पराजित गरेको सेभिया लिगको दोस्रो स्थानमा छ ।  सेभियाले ७ अंक जोडेको छ ।  यस्तै अर्को खेलमा भ्यालेन्सिया र एथ्लेटिको मड्रिडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।