खेलकुद

भेनस युएस ओपनबाट बाहिरिइन्

काठमाडौं, २३ भदौ ।  भेनस विलियम्स बर्षको अन्तिम तथा चौथो ग्राण्डस्लाम प्रतियोगिता युएस ओपन टेनिसको सेमिफाइनलमा पराजित भएकी छिन्  ।  युएस ओपनको महिला एकलतर्फ शुक्रबार भएको पहिलो सेमिफाइनलमा भेनस आफ्नै देशकी स्लोअना स्टेफेन्ससँग पराजित भएकी हुन् ।
अमेरिकाको न्युयोर्कमा भएको खेलमा बिना बरियताकी स्टेफेन्सले नवौं बरियता प्राप्त भेनसलाई ६ – १, ० – ६ र ७ – ५ को सेटमा पराजित गरिन् । स्टेफेन्स आफ्नो करियरमा पहिलोपटक युएस ओपनको फाइनलमा पुगेकी हुन् । अब उपाधिका लागि स्टेफेन्सले अर्का दुइ अमेरिकी खेलाडी मैडिसन केइस र कोको भेन्डेवेघेबीच हुने दोस्रो सेमिफाइनलको बिजेतासंग खेल्ने छिन् ।
यो बर्ष महिला एकलतर्फ युएस ओपनको अन्तिम चारमा पुग्ने सबै खेलाडी अमेरिकन रहेका थिए  । युएस ओपनमा ३६ बर्षपछि पहिलोपटक चार अमेरिकन महिला खेलाडीले सेमिफाइनलमा स्थान बनाएका हुन्  । यसअघि सन् १९८१ मा पनि महिला एकलतर्फ सेमिफाइनलमा पुग्ने सबै खेलाडी अमेरिकन रहेका थिए ।