खेलकुद

उपाधि खेलकुद पत्रकार मञ्चले उचाल्यो

काठमाडौं, २० भदौ । दोस्रो सूर्यकुमार स्मृति मिडिया कप फुटसलको उपाधि खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले जितेको छ ।  सोमबार भएको उपाधि भिडन्तमा माउण्टेन टेलिभिजनलाई ५–१ गोल अन्तरले पराजित गर्दै एनएसजेएफले उपाधि जितेको हो ।
भैसेपाटीस्थित गोलपोष्ट फुटसल एरिनामा भएको फाइनलमा एनएसजेएफलाई जित दिलाउन दिल तामाङले २ तथा सुबास हुमागाई, दिपेन्द्र पोख्रेल र निशान राईले समान १–१ गोल गरे । माउण्टेनका सुमन चौधरीले एक गोल फर्काए । त्यसअघि भएको सेमिफाइनलमा एनएसजेएफले नेपाल टेलिभिजनलाई ५–२ र माउण्टेनले फोटो पत्रकार समूह (पिजे) क्लबलाई ३–१ ले पराजित गरेको थियो ।  उपाधिसँगै एनएसजेएफले ५० हजार र उपविजेता माउण्टेनले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । 
स्वर्गीय पत्रकार सूर्यकुमार क्षेत्रीको सम्झनामा गत वर्षदेखि गोल पोष्ट स्पोर्टस एन्ड ट्रेनिङ सेन्टरले मिडिया कप आयोजना गर्दै आएको छ । खेल क्षेत्रको विकाससँगै स्वर्गीय पत्रकार क्षेत्रीको परिवारलाई सहयोग गर्ने उद्देश्यका साथ फुटसल कप आयोजना गरिएको आयोजक गोलपोष्ट स्पोर्टस एन्ड ट्रेनिङ सेन्टरले जनाएको छ ।