खेलकुद

ताजिकिस्तानविरुद्ध नेपालको तीन अंक बटुल्ने दाउः प्रशिक्षक

काठमाडौं, २० भदौ । एएफसी एसियन कप २०१९ को छनोटअन्तर्गत ताजिकिस्तानविरुद्ध आज नेपाल मैदानमा उत्रिदैछ । दिउसो ३ बजेबाट एन्फा मैदानमा हुने खेलमा नेपालको लक्ष्य जित रहेको प्रशिक्षक ग्योतोकी कोजीले बताएका छन् ।  नेपालले एफसी एसियन कप २०१९ को छनोटअन्तर्गत तेस्रो खेल खेल्दैछ । यसअघि नेपालले पहिलो खेल फिलिपिन्ससँग ४–१ गोलअन्तरले हार ब्यहोरेको थियो । दोस्रो खेलमा भने यमनसँग गोल रहित बराबरी खेल्दै अंक बटुलेको थियो । 
आफ्नो तेस्रो खेलमा ताजिकस्तानलाई पराजित गर्दै ३ अंक बटुल्ने दाउमा नेपाली टिम रहेको छ । ताजिकिस्तानभने यसअघिको दुबै खेलमा पराजित भएको छ ।  प्रि–म्या कन्फ्रेन्समा मुख्य प्रशिक्षक कोजीले विगत लामो समयदेखि नेपाली टिम अभ्यासमा ब्यस्त रहेकोले राम्रो नतिजा आउनेमा आफु विश्वस्त रहेको बताए । उनले भने “हामी शतप्रतिशत नतिजा निकाल्न चाहन्छौ । जित नभएपनि बराबरी खेल्ने छौ । ताजिकिस्तानको खेल्ने शैली हामीलाई थाहा छ । त्यसै अनुसारको रणनीतिका साथ हामी मैदानमा उत्रिने छौ ।”
नेपालका कप्तान विराज महर्जनले राम्रो अभ्यास तथा प्रशिक्षण भएकोले सकारात्मक नतिजा ल्याउने बताए । उनले भने “हामीलाई घरेलु मैदान र दर्शकको साथ छ । छनोट चरणको अंक तालिकामा अब्बल हुनका लागि पनि जित आवश्वयक छ । त्यसैले हामी जितको लागि खेल्ने छौ ।”
ताजिकिस्तानका मुख्य प्रशिक्षक फुज्याल्लोभ खाकिमले यसअघिको दुई खेलमा पराजित भएकोले अब यो खेलमा जित हात पार्नु नै पर्ने भएको बताए । उनले भने “नेपाल निकै राम्रो टोली हो । नेपालको लागि घरेलु दर्शक र मैदानको साथ छ । तर हामी नेपाललाई पराजित गर्दै ३ अंक जोड्न चाहन्छौ ।” ताजिकिस्तान नेपाल भन्दा बलियो टोली कै रुपमा गनिन्छ । ताजिकिस्तान फिफा बरियतामा १५१ औं स्थानमा रहेको छ भने नेपाल १६९ औं स्थानमा रहेको छ ।