खेलकुद

मैत्रीपूर्ण भलिबलमा नेपालको क्लीन स्वीप

काठमाडौं, १५ भदौ । नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण भलिबल श्रृखंला २–० ले जितेको छ । ललितपुरको लगनखेल स्थित नेपाली सेनाको शारिरिक तालिम तथा प्रशिक्षण केन्द्रको कर्भडहलमा बुधबार भएको दोस्रो तथा अन्तिम खेलमा नेपालले बंगलादेशलाई ३–२ ले हराउँदै घरले कोर्टमा श्रृखंला जितेको हो । पहिलो खेल मंगलबार नेपालले ३–१ ले जितेको थियो ।
पहिलो खेलमा जस्तै दोस्रो खेलमा पनि नेपाली टोलीको रिसिभ कमजोर रह्यो । बंगलादेशी खेलाडीको सहज सर्भिसमा पनि नेपाली खेलाडीले रिसिभ खराब गरे । नेपालले सेटमा अग्रता बनाउँदा नेगेटिभ पोइन्टबाट सेट पछि परे । समग्रमा नेपाली खेलाडीबीच तालमेलको निकै अभाव देखिएको थियो ।
नेपाली टोलीले स्पाइककै भरमा पाँचौँ सेटमार्फत जित निकाल्यो । पहिलो मैत्रीपूर्णमा जित निकालिसकेको नेपाली टोलीले सहजै खेल आफ्ना पक्षमा पार्ने आंकलन गरिएपनि घरेलु टोलीले निरासलाग्दो प्रदर्शन गरे । तर नेपाली टोलीका प्रशिक्षक जगजिश भट्टले अनुमान गरे जस्तो खेल सहज भएन । उनले सोझो सेटमा जित्ने अनुमान गरेका थिए । तर , टोलीले अन्तिम सम्म संघर्ष गरेर जित हासिल गरेको थियो ।
नेपालले खेल अन्ततः १९–२५, २५–२३,२०–२५,२५–२२ र १५–८ ले जितेको थियो । नेपालका लागि कुलबहादुर थापाले पुनः उत्कृष्ट प्रदर्शन गरे । उनले कुल २८ अंकको महत्वपूर्ण योगदान दिएका थिए । कुलबहादुर असफल हुदा ८ अंक बिपक्षले प्राप्त गरेको थियो । नेपालका अन्य स्पाईकरले दोहोरो अंक छुन सकेनन् । यद्यपि सेटरको रुपबाट कप्तान इम रानाले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । 
नेपाली पुरुष भलिबल टोलीको स्तरबृद्धि र नियमित तयारीका लागि नेपाल भलिबल संघको आग्रहमा बंगलादेशको टोली मैत्रीपूर्ण खेलका लागि नेपाल आएको हो ।