खेलकुद

उपाधिका लागि नेपाल–भारत भिडन्त, बदला लिने मौका

काठमाडौं, ११ भदौ । काठमाडौंमा जारी यु–१५ साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज आयोजक नेपाल र भारत भिड्दै छन् ।  दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् ।  फाइनल खेल सातदोबाटोस्थित एन्फा मुख्यालयको कृतिम मैदानमा खेल हुनेछ ।
शनिबार भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक सुनिल कुमार श्रेष्ठले फाइनलमा हार नदोहोरिने बताएका छन् । ‘ भारतसँग समूह चरणमा आफ्नै केही गल्तीले हार्यौं । गल्ति सुधार्दै फाइनल जित्न चाहन्छौं ’ प्रशिक्षक श्रेष्ठले भने, ‘ हाम्रो खेलमा क्रमश सुधार भइरहेको छ । भारतलाई हराउनेमा आशावादी छौं । समूह चरणको हारले दबाब भन्दा पनि कमजोरी सुधार्ने मौका मिलेको छ ।’
भारतीय टोलीका प्रशिक्षक विभियानो फर्नान्डेजले नेपाललाई समूह चरणमा पराजित गरिसकेपनि फाइनल खेल पुरै फरक हुने बताए ।उनले भने  हामी पनि जित्न मेहनत नै गर्नेछौं’, ‘समूह चरणभन्दा फाइनल खेल पक्कै पनि गाह्रो हुने गर्दछ । नेपाललाई घरेलु दर्शकको साथ छ । खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछ ।’
नेपाली टोलीका कप्तान रोशन थापामगरले लगातारको खेलले टोलीको प्रदर्शनमा सुधार भएकोले फाइनलमा हराउने आशा व्यक्त गरे । उनले भने, ‘हाम्रो सट पासहरुमा केही समस्या छ । त्यसलाई सुधार्न सके भारतलाई पराजित गर्न सकिन्छ ।’ प्रशिक्षक श्रेष्ठले भारत बलियो प्रतिद्वन्द्वि भएको स्वीकार्दै उनीहरुसँग कुनै पनि हालतमा गल्ती नदोहो¥याई खेल्ने बताए ।
आजको खेल नेपालका लागि बदला लिने मौकाका रुपमा पनि हेरिको छ । घरेलु मैदानमा हुने खेलका लागि नेपाली टोली उत्साहित छन् । समूह चरणको खेलमा भारतसँगै पराजय व्यहोरेको नेपाल पुनः फाइनलमा भेट भएको हो । आजको खेलमा भारतलाई हराउँदै नेपाली उपाधि चुम्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ । 
आइतबार नै तेस्रो स्थानको लागि भुटानले बंगलादेशको सामना गर्नेछ । खेल हल्चोक मैदानमा दिउसा २ः३० बजे सुरु हुनेछ । प्रतियोगितामा ६ दक्षिण एसियाली राष्ट्रको सहभागिता रहेको छ । यसअघि यु–१६ साफ च्याम्पियनसिप हुदै आएकोमा यस पटकदेखि यु–१५ साफ च्याम्पियनसिपको आयोजना गरिएको हो ।