खेलकुद

पौडीबाज गौरिकाको दुई राष्ट्रिय किर्तिमान

काठमाडौं, २ भदौ । ओलम्पियन पौडीबाज गौरिका सिंहले २० औं राष्ट्रिय पौडी प्रतियोगितामा दुई राष्ट्रिय किर्तिमान बनाएकी छिन् । सातदोबाटोमा बिहिबारaf6 z'? राष्ट्रिय पौडीको पहिलो दिन गौरिकाले ५० मिटर बटरफ्लाई र २ सय मिटर फ्रिस्टाइल स्पर्धामा राष्ट्रिय किर्तिमान बनाएकी हुन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा त्रिभुवन आर्मी क्लबकी गौरिकाले महिला ५० मिटर बटरफ्लाईको हिट्स चरणमा  २९.४० सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्  । गौरिकाले सोफिया शाहले सातौं राष्ट्रिय खेलकुदमा बनाएको ३२.०६ सेकेन्डको कीर्तिमान तोडेकी हुन् ।

गौरिकाले फाइनल चरणमा भने २९.७८  सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । यस स्पर्धामा एपीएफकि डुआना लामाले ३७.५३ सकेन्डका साथ रजत र एपीएफकै तेन्जिङ्ग डोमा शेर्पाले ३७.८२ सेकेन्डका मा पुरा गर्दै कास्य जितिन्  ।

१२ औं दक्षिण एसियाली खेलकुदमा एक रजत र तीन कांस्यपदक जितेकी गौरिकाले महिला २ सय मिटर फ्रिस्टाइलको फाइनल चरणमा २ मिनेट ११.९४ सेकेन्डमा पुरा गर्दै राष्ट्रिय किर्तिमान बनाईन् । स्वर्ण जितेकी गौरिकाले सोफिया शाहले १२ औं दक्षिण एसियाली खेलकुदमा बनाएकी २ मिनेट १३.३२ सेकेन्डको किर्तिमान भंग गरेकी हुन् । यस स्पर्धामा एपीएफकि डुआना लामाले २ मिनेट ३३.११ सकेन्डका साथ रजत र एपीएफकै उपस्थी महर्जनले २ मिनेट ४९.३१ सेकेन्डमा पुरा गर्दै कास्य जितिन् ।

गौरिकाको व्यक्तिगत स्पर्धामा २९ औं पटक राष्ट्रिय कीर्तिमान हो । जारी राष्ट्रिय पौडीमा ५ इभेन्टमा सहभागी जनाएकी गौरिकाले दुई राष्ट्रिय किर्तिमान बनाएपछि आफु थप पदक जित्न हौसिएको बताइन । अब आफ्नो योजना १३ औ साग खेलकुदमा राम्रो गर्ने रहेको बताउदै उनले भनिन् ,“राष्ट्रिय किर्तिमान कायम गर्न पाउदा निकै खुशी छु, अब लण्डन फर्किएपछि साग खेलकुदका लागि तयारी गर्ने योजना छ ।” लण्डनमा आमाबुबासँग बस्दै आएकी गौरिका प्रतियोगिताको लागि नेपाल आएकी हुन् ।

राष्ट्रिय पौडी अन्तर्गत पहिलो दिन बिहिबार थप तीन खेलाडीले राष्ट्रिय किर्तिमान कायम गरे । बिहिबार बिहिबार एपीएफका डुआना लामा र सुभम श्रेष्ठ र किरण कार्कीले राष्ट्रिय किर्तिमान बनाए । डुआनाले महिला २ सय मिटर ब्रेस्टस्ट्रोक र सुभम र किरणले पुरुष २ सय मिटर ब्रेस्टस्ट्रोक राष्ट्रिय किर्तिमान बनाएका हुन् ।

डुआनाले महिला २ सय मिटर ब्रेस्टस्ट्रोकको हिट्स चरणमा  ३ मिनेट ०७.२२ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । उनले  ११ वर्ष पुरानो विविधा रिमालको नाममा रहेको कीर्तिमान भंग गरेकी हुन् । विविधाले कोलम्बोमा सन् २००६ मा भएको दसौं सागमा ३ मिनेट १२.८५ सेकेन्डमा पुरा गर्दै किर्तिमान बनाएकी थिइन्  । तर, डुआनाले फाइनल चरणमा ३ मिनेट ८.३२ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितिन् । यो स्पर्धामा उपस्थी महर्जनले रजत र अदिप्सा बैद्यले कास्य जितिन् ।

पुरुष २ सय मिटर ब्रेस्टस्ट्रोकमा स्वर्णसहित राष्ट्रिय किर्तिमान बनाएका सुभमले २ मिनेट ३६.७५ सेकेन्डको समय निकाले । यस्तै रजत जितेका किरणले २ मिनेट ४२.१३ सेकेन्डको समयसहित राष्ट्रिय किर्तिमान कायम गरे । यस स्पर्धामा राष्ट्रिय किर्तिमान सुभमको नाममा २ मिनेट ४२.६२ सेकेन्डको थियो ।