खेलकुद

एन्फा बैठक आज,  महत्वपूर्ण दुर्इ निर्यण हुँदै 

काठमाडौं, ३२ साउन । स्थगित अखिल नेपाल फुटबल संघ (एन्फा) को बैठक आज फेरि बस्दैछ । साउन ११ गते सुरु भएको बैठक थ्री स्टारलाई क्षतिपूर्ति दिने विषयमा विवाद चर्केपछि स्थागित भएको थियो । साउन १२ लाई बैठक सुरु गर्ने बताइएपनि बैठक सुरु नहुँदै सूचना टास गरेर स्थगित भएको थियो ।
यसअघि बैंठक जहाँ स्थगित भएको त्यहिबाट प्रारम्भ हुने एन्फाका प्रमुख कार्यकारी अधिकृत  इन्द्रमान तुलाधरले बताएका थिए । एन्फा प्रवक्ता समेत रहेका तुलाधरले थ्री स्टारको विषय, लिगको मिति तय गर्ने लगायत सबै विषयमा निर्णय लिइने जनाएका छन् ।

गत बर्ष एन्फाको गल्तिका कारण छनोट भइसकेको थ्री स्टारले एएफसी कप खेल्न पाएको थिएन । त्यसको विरोधमा थ्री स्टारले दोषीमाथि कारवाहीसहित ६ करोड रुपैयाँ क्षेतिपूर्ति माग गरेको थियो। साथै थ्री स्टारले माग पुरा नभएसम्म एन्फाले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा भाग नलिने घोषणा गरेको थियो। सोही अनुरुप थ्रीस्टारले कुनै पनि खेलमा भाग लिएको छैन ।

एन्फा पदाधिकारीले नै गल्ती गर्नेलाई कुनै कारवाही नगरी एकतर्फी रुपमा क्षतिपूर्ति दिने मात्र सम्भव नहुने बताएपछि एन्फा बैठक स्थगित गर्न एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ बाध्य भएका थिए । साउन ११ गतेका लागि तय भएको एजेन्डामा पुरस्कारका विषय थपिएको सिइओ तुलाधरले जनाएका छन् ।

‘एन्फाले दिने पुरस्कार शरद चन्द शाह स्मृति, रुपक स्मृति र उत्कृष्ट खेलाडी अवार्डको प्रस्ताव थपेका छौं’ उनले भने, ‘अन्य सबै पुरानै एजेन्डा हुन् ।’ आज बस्ने बैठकले सबै विषयमा निर्णय गरेरअघि बढ्ने तुलाधरले बताए । ‘अब सधै अलमल गरेर हुन्न’ उनले भने, ‘सबै एउटै विषयमा अल्झदा फुटबल गतिविधिनै नहुने खतरा बढ्दै छ । अब सबै विषय टुंगाएर विशेष साधारण सभामा जानु पर्ने अवस्था छ । ’

बैठकमा लिग फुटबलको मिति तय गर्न र थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा मुख्य छलफल हुनेछ ।