खेलकुद

युरोपको उत्कृष्ट खेलाडी बन्ने दौडमा तीन खेलाडी

काठमाडौं, ३२ साउन । युइएफाले २०१६/१७ सिजनको उत्क्रोष्ट खेलाडीको उपाधि जित्ने होडमा रहेका शीर्ष ३ खेलाडीको नाम सार्वजनिक गरेको छ। गत सिजनका विजेता क्रिस्टियानो रोनाल्डोसँगै बार्सिलोनाका लियोनेल मेस्सी र युभेन्टसका कप्तान जियानलुइजी बुफोन शीर्ष ३ स्थानमा पर्न सफल भएका छन्।

युरोपियन फुटबलको उत्कृष्ट खेलाडीको छिनोफानो गत सिजन च्याम्पियन्स लिग र युरोपा लिग खेल्ने ८० टोलीका प्रशिक्षक र युरोपका ५५ देशका पत्रकारहरुले गरेको मतका आधारमा गरिएको हो। यस उपाधिको घोषणा अगस्ट २४ तारिखमा युइएफा च्याम्पियन्स लिगको समूह चरणको ड्रका दिन हुने तय भएको छ।

युइएफाको उत्कृष्ट खेलाडीको उपाधि युरोपमा व्यवसायिक फुटबल खेल्ने जुनसुकै देशको खेलाडीले पनि जित्न सक्नेछन्। खेलाडीले घरेलु प्रतियोगिता गरेको प्रदर्शन मात्र नभएर उसको क्लबसँग रहेर खेलेका अन्य औपचारिक र राष्ट्रिय टोलीको प्रदर्शनलाई पनि मध्यनजर गरिएको हुन्छ। कुनैपनि प्रशिक्षकले आफ्नो टोलीको खेलाडीलाई मत दिन पाउने छैनन्।

मेस्सी र रोनाल्डो दुवै खेलाडीले २/२ पटक यस अवार्ड जितेका छन् भने रोनाल्डोले गत सिजन यस उपाधि आफ्नो नाम लेखाएका थिए। सन् २०११ देखि सुरु भएको यस अवार्ड २०११/१२मा आन्द्रेस इनिएस्टा र २०१२/१३मा फ्र्यांक रिबेरीले जितेका थिए।

उत्कृष्ट खेलाडीसँगै युइएफाले यसै सिजनबाट सुरु भएको विधागत खेलाडीमा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डको पनि घोषणा गर्नेछ।