खेलकुद

खेलाडीको प्रतिभा मर्न दिन्नौंः खेलकुदमन्त्री केसी

काठमाडौं, २५ साउन । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलाडीको प्रतिभा मर्न नदिने बताएका छन् । हरिहर भवनस्थित निवासमा खेलाडीहरुलाई सम्मान गर्दै सरकारले उनीहरुको हौसला बढाउने तथा प्रोत्सानात्मक कार्यक्रम गर्ने बताए ।  दक्षिण एसियाली खेलकुद (साग) तथा एसियाली खेलकुदका पदक विजेताको सम्मानमा आफैले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री केसीले खेलाडीको यस्तो उद्घोष गरेका हुन् ।

उनले खेलकुदमा राजनीति हुन नदिने प्रतिबद्धता जनाउदै भने, ‘खेलकुदमा धेरै राजनीति हुन्छ भनेको सुनेको छु । म त्यो हुन दिन्न । तपाईं खेलाडीहरु कडा परिश्रम र मेहनतबाट यो अवस्थामा आइपुग्नु भएको छ । तपार्ईंहरुको हौसला र उर्जालाई विभेद, अन्याय र राजनीतिका कारण कुनै पनि हालतमा मर्न दिन्न।’

उनले १३ औं साग आयोजनाको मुख्य चुनौती पूर्वाधार भएको बताउदै खेलकुदका पूर्वाधार भएका अन्य निकायसंग पनि जानकारी लिइरहेको बताए । ‘१३ औं सागको तयारीका लागि धेरै समय छैन । यसको मुख्य चुनौती पूर्वाधार नै हो । त्यसै त हामीसंग कम पूर्वाधार छन्,’ खेलाडीलाई सम्बोधन गर्दै मन्त्री केसीले भने ‘भएका पूर्वाधार पनि भूकम्पले क्षति पु¥याएको छ । पूर्वाधारका सम्बन्धमा सुरक्षा निकायमा रहेका खेलकुदका पूर्वाधारका बारेमा पनि जानकारी लिने प्रयासमा छु । पोखरालाई पनि ध्यानमा राखिएको छ ।’

आफू कोंग्रेस भएपनि पार्टीलाई सहयोग गर्न नभइ समग्र खेलकुदको विकास र खेलाडीको हितमा काम गर्न आएको बताउँदै मन्त्री केसीले आफ्नो कारणले खेलाडीको शिर झुक्न नदिने प्रतिवद्धता व्यक्त गरे । उनले खेलाडीको वृत्ति विकास र सम्मान कसरी हुन सक्छ त्यसमा विषयमा सकारात्मक सुझाव दिन पनि खेलाडीलाई अग्राह गरे ।

सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सीमित वातावरणमा पनि खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रलाई चिनाउने काम गरिरहेको बताउदै राष्ट्रलाई चिनाउने धेरै क्षेत्र मध्ये खेलकुद अग्रपंक्तिमा रहेको धारणा व्यक्त गरे । उनले कार्यक्रममा सिनियर खेलाडी भेट्न पाउदा अत्यन्तै खुशी लागेको बताउदै उचित वातावरण पाउने हो भने नेपाली खेलाडीसंग ठूलो फड्को मार्ने क्षमता भएको बताए ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सम्भवतः इतिहासमै पहिलो पटक विभागीय मन्त्रीले खेलाडीलाई स्वयं भेट्न बोलाएकोमा आभार प्रकट गर्दै यसले खेलाडीको दर्जा माथि छ भन्ने संकेत गरेको बताए । उनले खेलाडीले हासिल गरेको पदकको वर्गिकरण गरी शिक्षा, स्वास्थ्य, यातातमा सामाजिक सुरक्षाको व्यवस्था हुनु पर्ने माग राख्दै खेल र खेलाडीलाई प्राथमिकतामा राखेर काम गर्न मन्त्री केसीलाई आग्रह गरे ।

सागका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धरले १३ औं सागलाई सफलतापूर्वक सम्पन्न गर्न चाँडो भन्दो चाँडो पूर्वाधार तयार गर्नुपर्नेमा जोड दिदै विभागीय मन्त्रीले भेट्न बोलाउदा गौरव महसुस भएको बताए । नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले आठौं सागमा नेपालले हासिल गरेको सफलतालाई दोहो¥याने हिसाबले १३ औं सागको तयारी थाल्नु पर्ने आवश्यकता औलाए ।

खेलाडी संघका पूर्व अध्यक्ष एवं सागका कीर्तिमानी चार स्वर्ण विजेता तेक्वान्दोका दीपक विष्टले खेलाडी सुविधा कार्यविधीमा समावेश गरिएको खेलाडीको सुविधाका विषयमा जानकारी गराउदै कार्यविधिलाई क्याबिनेटबाट पारित गराइदिन आग्रह गरे । मन्तव्य सकाउनसाथ उनले कार्यविधि मन्त्री केसीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रम नयाँदेखि पुराना पुस्ताका पदक विजेता खेलाडीलगायतको उपस्थिति रहेको थियो । उनीहरुलाई मन्त्री केसी र बस्नेतले खादा र टीका लगाइ स्वागत गरेका थिए ।