खेलकुद

वर्ष समिक्षाः विगतलाई फर्केर हेर्दा खल्लो खेलकुद

काठमाडौं, बैशाख ।  नेपाली खेलकुदको लागि २०७३ साल उपलब्धिको हिसाबले सामान्य नै रह्यो । नेपालले केही अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनायो तर त्यसबाट अनुभव भन्दा बढी केही मिलेन । खेल्ने मैदान बनाउने भनेर बजेट भाषणमा चर्का कुरा गरियो तर भाषणमा मात्रै सीमित भयो । अझैपनि खेलकुदका पदाधिकारीहरु खेलकुदको विकास यसरी गर्नुपर्छ उसरी गर्नुपर्छ भन्न पछि पर्दैनन् । देशको गरिमा बोकेको दशरथ रंगशालको हालपनि लथालिङ्ग छ । तर पनि केही उल्लेखनीय काम भने भए, हरेक २–२ वर्षमा आयोजना हुने राष्ट्रिय खेलकुद पूरा हुन झण्डै पाँच वर्ष कुर्नप¥यो । यसलाई सफलताका रुपमा लिनुपर्छ । 
सातौं राष्ट्रिय खेलकुदः
नेपालले वर्ष २०७३ मा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्यो । पुस ८ गतेदेखि १५ गतेसम्म चलेको उक्त प्रतियोगिता बिराटनगरमा भएको थियो । खेलकुदको विकासको लागि यस्ता प्रतियोगिता कोसेढुंगा सावित हुन्छ । साथै नव प्रतिभाको छनौट र अन्तराष्ट्रिय प्रतियोगिताको तयारीको रुपमा पनि यस्ता प्रतियोगितालाई हेरिन्छ ।

देशकै सबैभन्दा ठूलो प्रतियोगितामा झण्डै ४ हजार खेलाडीहरुले ३५ वटा फरक–फरक खेलमा सहभागिता जनाए । आयोजकले प्रतियोगिता राम्रो भन्दै गर्दा खेलाडीहरुले थुप्रै सास्ती बेहोर्नुपर्यो हुनत यो कुरा नेपाली खेलाडीहरुको लागि खासै नौलो भने होइन । विना तयारी, बजेट अभाव, अनुसासन भंग भएको घटना राष्ट्रिय खेलकुदमा देखिएका तीता यर्थाथ हुन् । 

रियो ओलम्पिक

नेपालले यो वर्ष खेलकुदको महामेला रियो ओलम्पिकमा सहभागि हुने अवसर पायो । ब्राजिलको रियो दी जेनेरियोमा अगस्ट ५ देखि सुरु भएको खेलमा विश्वभरका ११ हजार २ सय २७ खेलाडीहरु थिए । २८ खेलमा ३०६ प्रतिस्पर्धा गराइएको खेलमा नेपालको तर्फबाट पाँच खेलमा सहभागिता जनाउने गरि सात खेलाडी रियो तिर लागे । तर, पौडिमा शिरिष गुरुङको राष्ट्रिय कीर्तिमान बाहेक अरु केही मिलेन । ओलम्पिकमा सहभागी दशौं हजार खेलाडी मध्ये गौरिका सबैभन्दा कान्छी खेलाडी भएको थाहा भएपछि विश्वका ठूला मिडियाहरुले पनि ध्यान गौरिकातिर खिच्न भ्याएका थिए । १३ वर्षकै उमेरमा गौरिकाले खेलकुदको ठूलो प्रतियोगिामा सहभागिता जनाउन पाइन् ।
क्रिकेट लथालिंग
यस वर्ष क्रिकेटको लागि सफल वर्ष बन्न सकेन । बैशाखको दोस्रो साता नै आइसीसीको दुबईमा बसेको बोर्ड बैठकले नेपाली क्रिकेट संघ (क्यान)लाई निलम्बन गर्यो ।पटक–पटक आईसीसीले दिएको निर्देशन पालना नगरि अटेर गरिबस्दा कारबाहीमा परेको हो । पुरानो कार्यसमितिको म्याद सकिएपछि एक समूहले राखेपको प्रतिनिधिबिना साधारण सभा आयोजना गरी उपाध्यक्ष चतुरबहाखुर चन्दको नेतृत्वमा निर्वाचित समिति बनेपछि राखेपले निर्वाचित समितिलाई मान्यता नदिएर र रमेश सिलवालको नेतृत्वमा समानान्तर तदर्थ समिति गठन गरिदिएपछि बिबाद चुलिएको थियो । यसले नेपाली क्रिकेट मात्रै होइन समग्र नेपाली खेलकुदलाई नै अन्तराष्ट्रियस्तरमा नाङ्गो बनाइदियो । तर क्रिकेटको एउटा उपलब्धिका रुपमा भने खेलाडीलाई बोलकबलबाट छनोट गर्ने गरेका कारण खेलाडीलाई खेलप्रति जिम्मेवार, आत्मनिर्भर बनाउने अवस्था देखियो । यो अवस्था जुराउने भने धनगढी प्रिमियर लिग डीपीएल आयोजकले गरेको हो । 
विश्व क्रिकेट च्याम्पियनसिप
फागुन अन्तिममा कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र केन्या एक आपसमा भिडे । दुई खेलमध्ये पहिलो केन्याको पक्षमा गयो भने दोस्रो खेलमा नेपालले जित हात पार्यो । पानीको पर्वाह नगरि नेपाली दर्शकहरु कीर्तिपुरको मैदानमा खेल हेर्न पुगे । घरेलु मैदानमा बिरलै हुने यस्ता प्रतियोगितामा दर्शकहरु सहभागिता व्यापक देखिए पनि नेपाली खेलाडीको प्रदर्शन भने फितलो देखियो । 

नेपाल ओलम्पिक कमिटि विवाद
७ वर्ष भयो नेपाल ओलम्पिक कमिटिको बिबाद सुरु भएको तर अझैपनि त्यसको समाधान भएको छैन । २०६७ असोजमा सर्वोच्च अदालतले रुक्मशमशेर राण अध्यक्ष रहेको समति वैधानिक एनओसी भएको निर्णय गरेको छ तर अझैसम्मपनि तत्कालिन ध्रुवबहादुर प्रधान र हाल जीवनराम श्रेष्ठ अध्यक्षताको एनओसीले काम गरिरहेको छ । नत उक्त उक्त समितिलाई मन्त्रालयले नै रोकेको छ नत प्रभावकारी ढंगले काम गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)मा नयाँ नेतृत्व आएपछि धेरैले आशा गरेका थिए । अब केही हुन्छ भनेर तर अध्यक्ष इन्द्रमान तुलाधरले पसरवर्तनको कुरा गर्दा–गर्दै समय बितेको चाल नै पाएनन् । नत उनले घरेलु लिग सञ्चालन गर्न सके बरु, मोफसलमा थुप्रै गोल्डकप प्रतियोगिताहरु भए । खेलाडी तथा क्लबहरु एन्फाले केही गर्न नसकेपछि उतैतिर ब्यस्त भइरहेका छन् ।
वर्ष २०७३ मा नेपाली फुटबल केही हदसम्म सफल रह्यो । नोभेम्बरको दोस्रो साता अर्थात कात्तिक ३० मा सम्पन्न एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउलाई हराउँदै नेपालले कमै महत्व भएको कप भएपनि उचाल्यो ।
पुसको दोस्रो साता भारतको सिलिगसडीमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा नेपाली चेलीहरुको प्रदर्शन राम्रो त्यती राम्रो रहेन र भारतीय टोलि अघि नेपाली टोलीको केही लागेन सेमिफाइनलको खेलसम्म राम्रो प्रदर्शन गरेको टोलीलाई भारतले ३–१ गोल अन्तरले हराएपछि फाइनल प्रवेश गर्न सकेन ।
मीरा राईः
पूर्वअयोग्य लडाकु मीरा राईको चर्चा वर्ष २०७३ मा राष्ट्रमा मात्र होइन विश्वमै रह्यो । अल्ट्रा धाविका मीरा राईले नेसनल जियोग्राफीले सन् २०१७ का लागि गरेको एड्भेन्चर्स अफ दी इयरको पिपुल्स च्वाइस अवार्ड जित्न सफल रहिन् । उनी नेपाली खेलाडीहरुका लागि प्रेरणाको स्रोत समेत बन्न सफल भइन् ।